Logo

११ साउन, चितवन । चितवनको सिमलताल नजिकै सोमबार बिहान खसेको पहिरो पन्छाएसँगै अवरुद्ध बनेको मुग्लिन–नारायणगढ सडकखण्ड दुवैतर्फ पुनः सञ्चालनमा आएको छ। पहिरो हटाइए पछि रोकिएका सवारीसाधनहरू आफ्नो गन्तव्यतर्फ लाग्न थालेका छन् ।

सडक डिभिजन कार्यालय भरतपुरका अनुसार आज बिहान तड्के पहिरो खसेर यातायात पूर्ण रूपमा ठप्प बनेको थियो। सडक अवरुद्ध भएलगत्तै परिचालन गरिएका भारी उपकरणहरूको सहयोगमा पहिरो पन्छाउने काम निरन्तर गरिएको थियो ।

सडक डिभिजन भरतपुरले बिहान ६:३० बजे औपचारिक सूचना जारी गर्दै भनेको छ, “मुग्लिन–नारायणगढ सडक खण्डको सिमलताल नजिकै आज बिहान पहिरो खस्दा अवरुद्ध बनेको सडक आवागमन हाल पहिरो हटाई सञ्चालनमा आएको जानकारी गराउँछौँ।”

सडक सुचारु भएसँगै बिहानैदेखि बीच बाटोमै रोकिएका सयौँ यात्रुवाहक तथा मालवाहक सवारीसाधनहरू गन्तव्यतर्फ लागिसकेका छन् । वर्षात्को समयमा सो क्षेत्रमा पुनः पहिरो खस्ने जोखिम कायमै रहेकाले सावधानीपूर्वक सवारी चलाउन ट्राफिक प्रहरीले चालकहरूलाई अनुरोध गरेको छ ।


सम्बन्धित समाचार