१० साउन, काठमाडौं । कीर्तिपुरस्थित सशस्त्र प्रहरी बल (एपीएफ) स्कुलमा भएको वित्तीय अनियमितता र घोटाला प्रकरणमा संलग्न रहेको आरोपमा पक्राउ परेका दुई जनामाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अनुसन्धान प्रक्रिया तीव्र बनाएको छ ।
एपीएफ स्कुलकी लेखा अधिकृत एवम् सशस्त्र प्रहरी निरीक्षक कल्पना गुरुङ र एमडि एडभेन्चर टुर्स एण्ड ट्राभल्सका सञ्चालक लिलाबहादुर तामाङलाई थप १० दिन हिरासतमा राखेर अनुसन्धान गर्न विशेष अदालतले अनुमति दिएको छ । विशेष अदालतका न्यायाधीशहरू नारायण प्रसाद पौडेल, हेमन्त रावल र डिल्लीरत्न श्रेष्ठको संयुक्त इजलासले आयोगको मागबमोजिम उक्त म्याद थपको आदेश दिएको हो ।
गत असार २० गते जिल्ला प्रहरी परिसर काठमाडौँबाट पक्राउ परेका दुवै आरोपीहरूमाथि काठमाडौँ जिल्ला अदालतबाट पटकपटक म्याद थप गरी अनुसन्धान चलाइएको थियो । पछि भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ७ र १७ बमोजिमको कसुरमा अनुसन्धान गर्नुपर्ने देखिएपछि जिल्ला सरकारी वकील कार्यालय र प्रहरी परिसरको सिफारिसमा गत साउन ८ गते उनीहरूलाई अख्तियारको जिम्मा लगाइएको थियो ।
काठमाडौँ जिल्ला अदालतको अघिल्लो अवधिलाई समेत गणना गर्दा उनीहरूविरुद्ध यो पाँचौँ पटक म्याद थप भएको हो । हाल दुवै जनालाई हिरासतमा राखेर अख्तियारले एपीएफ स्कुलको आर्थिक घोटालाको दायरा फराकिलो बनाउँदै छानबिन अघि बढाएको छ ।




















