Logo

१० साउन, काठमाडौं । एमाले र नेकपाबिच पाँच प्रदेशमा सत्ता समीकरणका लागि तीनबुँदे सहमति भएसँगै एमालेको भागमा परेका प्रदेशहरूमा मुख्यमन्त्री बन्न नेताहरूको दौडधुप र रस्साकस्सी सुरु भएको छ ।

शनिबार एमाले अध्यक्ष केपी शर्मा ओली र नेकपा संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’बिच भएको सहमति अनुसार एमालेले कोशी, बागमती र लुम्बिनी प्रदेशमा मुख्यमन्त्री पाउनेछ भने नेकपाले कर्णाली र सुदूरपश्चिमको नेतृत्व सम्हाल्नेछ । कर्णालीमा मङ्गलबहादुर शाही र सुदूरपश्चिममा खगरा ज भट्टलाई मुख्यमन्त्री बनाउने नेकपाको तयारी रहे पनि एमालेले पाएका तीन प्रदेशमा भने नयाँ मुख्यमन्त्रीका लागि पार्टीभित्रै तीव्र प्रतिस्पर्धा देखिएको छ ।

कोशी प्रदेशमा हाल एमालेकै हिक्मतकुमार कार्की मुख्यमन्त्री रहे पनि अध्यक्ष ओलीले उनको स्थानमा संसदीय दलका उपनेता तिलकुमार मेन्याङ्बोलाई अघि सार्ने आश्वासन दिएको बुझिएको छ । त्यस्तै, बागमती प्रदेशमा हाल जगन्नाथ थपलिया संसदीय दलको नेता रहे तापनि अध्यक्ष ओलीको रोजाइमा भक्तपुरका किरण थापा परेका छन् ।

यद्यपि, दलको नेता परिवर्तनका लागि चुनाव भएमा थपलिया, थापा र काठमाडौँका केशव पोखरेलबिच त्रिकोणीय भिडन्त हुने देखिन्छ । उता लुम्बिनी प्रदेशमा हालका मुख्यमन्त्री चेतनारायण आचार्यलाई महासचिव शङ्कर पोखरेलको साथ रहे पनि अध्यक्ष ओलीले भूमिश्वर ढकाललाई अघि सार्ने भित्री तयारी गरेका छन् ।

तीनवटै प्रदेशमा नयाँ मुख्यमन्त्री ल्याउन संसदीय दलको नेता परिवर्तन गर्नुपर्ने र अन्य साना दलहरूको समर्थन जुटाउनुपर्ने भएपछि एमालेभित्र शक्ति केन्द्र रिझाउने खेल तीव्र बनेको छ ।


सम्बन्धित समाचार