१० साउन, काठमाडौं । त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायअन्तर्गत एमबीएस प्रथम सत्रको परीक्षा चल्दाचल्दै प्रश्नपत्र बाहिरिएको घटनाबारे सुक्ष्म अनुसन्धान गर्न छानबिन समिति गठन गरिएको छ ।
परीक्षा सञ्चालनकै क्रममा प्रश्नपत्र सामाजिक सञ्जालमा छरिएपछि व्यवस्थापन संकाय डीनको कार्यालय, परीक्षा सञ्चालन समितिले यस घटनालाई गम्भीरताका साथ लिँदै छानबिन अघि बढाएको हो ।
गत साउन ८ गते सञ्चालित एमजीटी विषयको परीक्षा सुरु भइसकेपछि प्रश्नपत्र बाहिरिएको थियो । परीक्षाको मर्यादा, गोपनियता र विश्वसनीयतामाथि नै ठूलो प्रश्नचिह्न खडा भएपछि डीन कार्यालयले आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । छानबिन समितिको संयोजकमा त्रिवि केन्द्रीय विभागका प्रा.डा.अच्युत वाग्ले रहेका छन् ।
त्यस्तै सदस्यहरूमा केन्द्रीय अनुगमन निर्देशनालयका उपनिर्देशक पुष्कर रैखला र केन्द्रीय परीक्षा समितिका सदस्य महेशराज ओझा रहेका छन् । समितिलाई सात दिन समय दिइएको त्रिवि व्यवस्थापन संकायका सहायक डिन डा.भरत राईले जानकारी दिए । गठित समितिले प्रश्नपत्र बाहिरिनुको कारण, प्रक्रियागत त्रुटि र संलग्न व्यक्तिहरूबारे अनुसन्धान गरी सत्यतथ्य प्रतिवेदन बुझाउनेछ ।
यसैबीच, परीक्षा सुरु भएको ५ मिनेटमै प्रश्नपत्र सामाजिक सञ्जालमा सार्वजनिक गरेको आरोपमा प्रहरीले २ जनालाई नियन्त्रणमा लिएको छ। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले पक्राउ परेका व्यक्तिहरूमाथि आवश्यक अनुसन्धान अगाडि बढाएको छ ।




















