Logo

१० साउन, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमाथि गर्ने भनिएको हालसम्मकै ठूलो सैन्य कारबाहीलाई तत्कालका लागि रोक्न सेनालाई निर्देशन दिएका छन् ।
शीर्ष सल्लाहकारहरू र मन्त्रिपरिषद्का सदस्यहरूसँगको उच्चस्तरीय छलफलपछि ट्रम्पले उक्त निर्णय लिएका हुन्, जसका कारण विगत १३ रातदेखि इरानी सैन्य अखडाहरूमा भइरहेको निरन्तर बमबारी शुक्रबार रातिदेखि रोकिएको छ ।

जोइन्ट चिफ्स अफ स्टाफका अध्यक्ष जनरल ड्यान केनले मध्यपूर्वमा अमेरिकी सेनासँग प्याट्रियट इन्टरसेप्टर मिसाइललगायतका हवाई रक्षा हतियारहरूको भण्डार तीव्र रूपमा घट्दै गएको र थप ठूलो आक्रमण गर्दा त्यहाँ तैनाथ अमेरिकी सैनिक र सहयोगी राष्ट्रहरूको सुरक्षा नै जोखिममा पर्ने चेतावनी दिएपछि ट्रम्प रणनीतिक रूपमा पछि हटेका हुन् ।

मध्यपूर्वमा तनाव चुलिएकै समयमा इरानले बहराइनस्थित अमेरिकी ‘फिफ्थ फ्लिट’ को नौसैनिक अखडामा ड्रोन र मिसाइल प्रहार गर्दा ठूला विस्फोटहरू भएका छन् भने हालै जोर्डनमा ३ जना अमेरिकी सैनिकको मृत्यु भएपछि अमेरिकाभित्र चिन्ता थप बढेको छ ।

हमला रोक्ने यो निर्णय अस्थायी वा दीर्घकालीन के हो भन्ने स्पष्ट नभए पनि पेन्तागनले सम्भावित परिस्थितिलाई मध्यनजर गर्दै मध्यपूर्वमा थप सैन्य बल र हातहतियार पठाएको छ ।

अमेरिकी सैन्य रणनीतिकारहरूले इरानका ऊर्जा संरचना र आणविक केन्द्रहरूमा आक्रमण गर्ने विकल्पहरू तयार राखेका छन् भने पेन्तागनले आवश्यक परे जुनसुकै बेला ठूलो सैन्य अभियानका लागि तयार रहने जनाएको छ ।


सम्बन्धित समाचार