१० साउन, वीरगञ्ज । पर्साको वीरगञ्जस्थित नारायणी अस्पतालको आकस्मिक कक्षमा उपचारका क्रममा बिरामीको मृत्यु भएपछि उत्पन्न विवाद समाधानका लागि पाँच सदस्यीय छानबिन समिति गठन गरिएको छ । साथै, घटना हुँदा उपचारमा संलग्न रहेका पाँच जना स्वास्थ्यकर्मीहरूलाई छानबिन प्रतिवेदन नआउञ्जेलसम्मका लागि जिम्मेवारीबाट हटाइएको छ ।
वीरगञ्ज महानगरपालिका–२५ निवासी ४५ वर्षीय राजकुमार पटेलको शनिबार उपचारका क्रममा मृत्यु भएको थियो। चिकित्सक र अस्पताल प्रशासनको लापरबाहीका कारण बिरामीको मृत्यु भएको आरोप लगाउँदै आफन्त र स्थानीयले अस्पताल परिसरमा उग्र विरोध प्रदर्शन गरेपछि स्थिति तनावग्रस्त बनेको थियो।
स्थिति नियन्त्रण बाहिर जान थालेपछि स्थानीय प्रशासन, नारायणी अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. चितरञ्जन साह, पीडित परिवार तथा स्थानीय जनप्रतिनिधिहरूका बिच भएको सहमतिका आधारमा छानबिन समिति गठन गरिएको हो ।
गठित समितिमा नारायणी अस्पतालका डा. निरज कुमार सिंह, जिल्ला प्रशासन कार्यालय पर्साका प्रशासकीय अधिकृत विनय कुमार राम, जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी निरीक्षक, वीरगञ्ज–२५ का वडा अध्यक्ष आशुतोष चतुर्वेदी, मृतक पक्षका प्रतिनिधि विकास पटेल र अस्पताल प्रशासनका सुनिल कुमार रोनियार रहेका छन् ।
जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता एवं सूचना अधिकारी डीएसपी चक्रबहादुर मल्लका अनुसार समितिले साउन ९ गते घटेको घटनाको सत्यतथ्य अध्ययन तथा विश्लेषण गरी सात दिनभित्र प्रतिवेदन पेस गर्ने कार्यादेश पाएको छ। प्रतिवेदनको सिफारिसका आधारमा दोषीमाथि थप कारबाही अघि बढाइनेछ ।
घटना हुँदा आकस्मिक कक्षमा खटिएका डा. प्रमोद राम, डा. राम किशोर सिंह, प्रहलाद प्रसाद, नरेश कुमार चौधरी र आस्था यादवलाई तत्कालका लागि कामकाजबाट रोक लगाइएको छ ।
उता, मृतकका आफन्तले अक्सिजनमा रहेका बिरामीलाई स्थानान्तरण गर्ने क्रममा अक्सिजन हटाएर गम्भीर लापरबाही गर्दा ज्यान गएको आरोप लगाएका छन् । उपचारमा लापरबाही भएको भन्दै आक्रोशित भिडले आकस्मिक कक्षमा छिरेर होहल्ला र तोडफोड गरेपछि प्रहरीले स्थिति नियन्त्रणमा लिन लाठीचार्जसमेत गर्नुपरेको थियो ।
प्रशासनसँगको सहमतिपछि मृतक पक्षले शव बुझेर पोस्टमार्टम गराई धार्मिक परम्पराअनुसार अन्त्येष्टि गर्न मन्जुर गरेका छन्। अस्पताल प्रशासनले नारायणी अस्पतालबाट प्रवाह हुने नियमित स्वास्थ्य सेवालाई थप प्रभावकारी र सुचारु राखिने जनाएको छ ।



















