१० साउन, काठमाडौं । गत साता नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा उत्साहजनक सुधार देखिएको छ ।
साताभरको उतारचढावका बीच नेप्से समग्रमा ५७ अंकले उकालो लाग्दै २७ सय ३४ दशमलव ६० को बिन्दुमा पुगेर बन्द भएको छ । साताभर भएका ५ कारोबार दिनमध्ये ४ दिन बजारमा हरियाली छायो भने १ दिन मात्र सामान्य गिरावट दर्ता भयो ।
साताको पहिलो दिन सोमबार ४१ दशमलव ७० अंकको ठूलो वृद्धिबाट सुरु भएको बजार यात्रामा मंगलबार, बिहीबार र शुक्रबार पनि सुधार कायम रह्यो, जसका कारण समग्र लगानीकर्ताको मनोबल उच्च देखिएको छ।
बजारमा नेप्सेसँगै कारोबार रकममा पनि उल्लेख्य वृद्धि दर्ज भएको छ । साताभरमा कुल २७ अर्ब रुपैयाँभन्दा बढीको शेयर कारोबार भएको छ, जसअनुसार मंगलबार सर्वाधिक ६ अर्ब ४७ करोड र शुक्रबार ६ अर्ब १४ करोड रुपैयाँको शेयर खरिदबिक्री भयो ।
सोमबार ५ अर्ब ४४ करोड, बुधबार ५ अर्ब १४ करोड र बिहीबार ४ अर्ब ६४ करोडको कारोबार भएको थियो । बुधबार १३।९५ अंकको क्षणिक गिरावट आए पनि समग्रमा साताभरको वित्तीय गतिविधिले शेयर बजार पुनः बलियो लयमा फर्किएको संकेत गरेको छ ।




















