Logo

१० साउन, वीरगञ्ज । देशका विभिन्न भागमा भएका छुट्टाछुट्टै आगलागीका घटनामा परी १५ लाख रुपैयाँभन्दा बढीको धनमाल जलेर नष्ट भएको छ। पर्साको वीरगञ्ज, काठमाडौँको बालाजु र दाङको भालुवाङमा भएका आगलागीमा कपडा पसल, सिलाई सेन्टर तथा घरायसी सामग्रीहरू जलेर क्षति पुगेको प्रहरीले जनाएको छ।

पर्साको वीरगञ्ज महानगरपालिका–६ स्थित एक रेडिमेड कपडा पसलमा गएराति आगलागी हुँदा रु. १२ लाख बराबरको क्षति भएको छ।

बाराको परवानीपुर गाउँपालिका–४ घर भएका राजकुमार साहले सञ्चालन गर्दै आएको ‘दुर्गा रेडिमेड सप्लायर्स’ मा गएराति साढे नौ बजे बिजुलीको तार सर्ट भई आगो लागेको थियो। आगलागीबाट पसलभित्र बिक्रीका लागि राखिएका सम्पूर्ण लत्ताकपडा जलेर पूर्ण रूपमा नष्ट भएका छन्। स्थानीयवासी र बारुणयन्त्र (दमकल) को सहयोगमा आगो नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ।

यसैबिच, काठमाडौँ महानगरपालिका–१६ स्थित राधाकृष्ण मन्दिर नजिकै सञ्चालित एक कपडा सिलाई सेन्टरमा गएराति भीषण आगलागी भएको छ। जागृत खनालको घरको भुइँतलामा सञ्चालित उक्त सेन्टरमा गएराति सवा १२ बजे आगलागी हुँदा करिब रु. ३ लाख ५० हजार बराबरको धनमाल जलेर नष्ट भएको छ।

आगलागीको प्रस्ट कारण नखुले पनि विद्युत्‌को तार सर्ट भएर आगो सल्केको अनुमान गरिएको छ। स्थानीयवासी र प्रहरी टोलीको तदारुकताका कारण आगो नियन्त्रणमा लिइएको प्रहरी वृत्त बालाजुले जनाएको छ।

उता दाङको राप्ती गाउँपालिका–१, पुरानो भालुवाङ बजारस्थित रमेशकुमार गुप्ताको घरमा पनि गएराति विद्युत् सर्ट भएर आगलागी भएको छ।

गएराति करिब ९ बजे घरको मिटरबक्सबाट बिजुलीको तार सर्ट भई सुरु भएको आगोले घरभित्र रहेका लत्ताकपडा, फ्रिज तथा अन्य घरायसी सामग्रीहरू जलेर नष्ट पारेको छ। प्रहरी र स्थानीयको सहयोगमा आगो निभाउन सफलता मिलेकाले थप ठुलो क्षति हुनबाट जोगिएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ।


सम्बन्धित समाचार