Logo

१० साउन, काठमाडौं । चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो ११ महिनामा नेपालले प्राप्त गर्ने वैदेशिक सहायता प्रतिबद्धतामा उल्लेख्य गिरावट आएको छ ।

अर्थ मन्त्रालयका अनुसार अघिल्लो आर्थिक वर्ष २०८१/८२ को सोही अवधिको तुलनामा वैदेशिक सहायता प्रतिबद्धता ३९ दशमलव ३ प्रतिशतले घटेको हो । चालु आवको जेठ मसान्तसम्ममा नेपालले कुल १ खर्ब ३४ अर्ब ८३ करोड रुपैयाँ बराबरको वैदेशिक सहायता प्रतिबद्धता प्राप्त गरेको छ ।

मन्त्रालयले सार्वजनिक गरेको विवरण अनुसार यस अवधिमा प्राप्त कुल सहायता प्रतिबद्धतामध्ये अनुदानतर्फ ४० अर्ब ८८ करोड रुपैयाँ र ऋणतर्फ ९३ अर्ब ९५ करोड रुपैयाँ रहेको छ । अघिल्लो आर्थिक वर्ष २०८१/८२ को पहिलो ११ महिनामा नेपालले २ खर्ब २२ अर्ब रुपैयाँ वैदेशिक सहायता प्रतिबद्धता प्राप्त गरेको थियो, जसमा ऋणको अंश ६९ दशमलव ७ प्रतिशत र अनुदानको अंश ३० दशमलव ३ प्रतिशत रहेको थियो ।

वैदेशिक सहायताको क्षेत्रगत अवस्था हेर्दा अघिल्लो आर्थिक वर्षको सोही अवधिमा सबैभन्दा बढी ऊर्जा तथा सडक पूर्वाधार क्षेत्रमा ४५ दशमलव ३ प्रतिशत सहायता प्रतिबद्धता प्राप्त भएको थियो । त्यसैगरी, सार्वजनिक वित्त क्षेत्रमा २३ प्रतिशत, जलवायु परिवर्तनमा १२ प्रतिशत, सहरी विकासमा ९ दशमलव ५ प्रतिशत र डिजिटल सेवामा ४ दशमलव ५ प्रतिशत सहायता सुनिश्चित भएको थियो ।

बाँकी रकम शिक्षा, स्वास्थ्य, सामाजिक क्षेत्र (२ दशमलव ८ प्रतिशत), सुशासन तथा अन्य (२ प्रतिशत) र कृषि, पर्यटन तथा मानव संशाधन क्षेत्र (० दशमलव ८ प्रतिशत) मा विनियोजित भएको अर्थ मन्त्रालयको तथ्याङ्कले देखाउँछ ।


सम्बन्धित समाचार