Logo

१० साउन, काठमाडौं । स्वदेशमा सहज रूपमा रासायनिक मल नपाउँदा भारतीय बजार पुगेका सर्लाहीका दुई नेपाली किसान पक्राउ परेको २६ दिन बितिसक्दा पनि भारतीय जेलमै रहेका छन् ।

गत असार १७ गते भारतको सीतामढीस्थित सोनबरसाबाट डिएपी र युरिया मलसहित पक्राउ परेका सर्लाही बलरा–५ का सुरेशप्रसाद सिंह र नागेन्द्रप्रसाद सिंहलाई असार १८ गते जेल चलान गरिएको थियो । उनीहरूलाई रिहा गर्न माग गर्दै गत शुक्रबार भारतीय अदालतमा निवेदन दर्ता गराइएको र सो निवेदनमाथिको सुनुवाइ आगामी साउन १५ (३१ जुलाई) का लागि तोकिएकाले उनीहरू अझै कम्तीमा एक हप्ता जेलमै रहने भएका छन् ।

स्वदेशमा मलको अभाव कायमै रहेका कारण सीमा क्षेत्रका किसानहरू जोखिम मोलेरै भए पनि भारतीय बजारमा निर्भर हुन बाध्य भइरहेका छन् । आफ्नै देशमा मल उपलब्ध नहुँदा सीमापारि पुगेर थुनिनुपरेका नागरिकको रिहाइका लागि नेपाल सरकारले तत्काल कूटनीतिक पहल गर्नुपर्ने माग मानवअधिकारकर्मीहरूले गरेका छन् ।

सरकारले आफ्ना नागरिकको रक्षाका लागि दृढतापूर्वक प्रस्तुत हुनुपर्ने र सीमा नाकामा हुने यस्ता समस्या समाधानका लागि ठोस कदम चाल्नुपर्नेमा सरोकारवालाहरूले जोड दिएका छन् ।


सम्बन्धित समाचार