१० साउन, काठमाडौं । लुम्बिनी सरकारबाट नेपाली कांग्रेसका मन्त्रीहरुले सामूहिक राजीनामा दिने भएका छन् ।
नेकपा एमाले र नेपाली कम्युनिष्ट पार्टी (नेकपा) बीच प्रदेश सरकारमा सहकार्य गर्ने सहमतिपछि कांग्रेसले लुम्बिनी सरकारबाट सामूहिक राजीनामा दिने भएको हुन् ।
यसअघि नेपाली कांग्रेसको केन्द्रीय समितिले असारको अन्तिममा नेकपा एमालेसँगको सत्ता सहकार्य अन्त्य गर्ने निर्णय गरेको थियो । तर लुम्बिनीमा कांग्रेसबाट मन्त्री भएकाहरुले राजीनामा दिएका थिएनन् ।
हिजो शनिबार मात्रै एमाले र नेकपा बीच सातै प्रदेशमा सत्ता सहकार्यको सहमति भएपछि भने एमाले नेतृत्वको सरकारमा सहभागी कांग्रेसका मन्त्रीहरुलाई नैतिक दबाब परेको हो ।
लुम्बिनीमा नेकपा एमालेका चेतनारायण आचार्य नेतृत्वमा कांग्रेससहितको सरकार छ । सामाजिक विकास मन्त्री जन्मजय तिमिल्सेनाले आफ्नो दलले निर्देशन दिनेवित्तिकै आफूहरुले राजीनामा दिने बताएका छन् ।



















