Logo

१० साउन चितवन । भरतपुर महानगरपालिका–१२ नौरङ्गेमा सामूहिक कुटपिट तथा छुरा प्रहारबाट गम्भीर घाइते भएका १६ वर्षीय रिदम पराजुलीको परिवारमा अर्को ठूलो बज्रपात परेको छ। छोराको उपचार, न्याय र दोषीलाई कानुनी कठघरामा पुर्‍याउन दिनरात दौडधुप गरिरहेका उनका बुवा रवि पराजुलीको साउन १० गते बिहान ११ बजेर ४५ मिनेटमा चितवन मेडिकल कलेजमा उपचारकै क्रममा निधन भएको छ।

रवि पराजुलीको निधनसँगै परिवार शोकमा डुबेको छ। छुरा प्रहारबाट गम्भीर घाइते भएका रिदमको चितवन मेडिकल कलेजमा १६ दिन उपचारका क्रममा दुई पटक शल्यक्रिया गरिएको थियो। हाल उनी घरमै बेड रेस्टमा उपचाररत छन्। नियमित फलोअपका लागि अस्पताल जाने–आउने गरिरहेका रिदमलाई आफन्तले सहारा दिएर देवघाट पुर्‍याएका थिए, जहाँ उनले आफ्नै बुवालाई अन्तिम दागबत्ती दिए।

देवघाटमा देखिएको दृश्य अत्यन्तै भावुक थियो। दुई पटक शल्यक्रिया गराइसकेका रिदम शारीरिक रूपमा कमजोर अवस्थामा थिए। आफन्तले समातेर उभ्याइरहेका थिए। आँखाभरि आँसु बोकेर बुवाको पार्थिव शरीरअगाडि उभिएका रिदमले आफ्नो पीडा रोक्न सकेनन्।

“मलाई त योजनाबद्ध रूपमा मार्न खोजिएको थियो। अपाङ्गजस्तै बनाइदिए। आन्द्रामा प्वाल पर्ने गरी चक्कु रोपे। अहिले दुई पटक अपरेसन गरिसकेपछि उपचार गरिरहेको छु। मेरो उपचार र मेरो न्यायका लागि लड्ने मेरो बुवा नै रहनुभएन,” रिदमले भावविह्वल हुँदै भने।

उनले थपे, “म घाइते भएदेखि बुवा दिनरात मेरै लागि दौडिनुहुन्थ्यो। कहिले प्रहरीसँग, कहिले सांसदसँग, कहिले चिनेजानेका व्यक्तिसँग मेरो न्यायका लागि कुरा गर्नुहुन्थ्यो। ‘तँलाई न्याय दिलाएरै छोड्छु’ भन्नुहुन्थ्यो। अपराधीलाई कानुनको कठघरामा पुर्‍याउने उहाँको अठोट थियो। आज मेरो लागि लड्ने खम्बा नै ढल्यो। अब मेरो आवाज कसले उठाइदिन्छ ? मलाई कसले न्याय दिलाइदिन्छ ?”

रिदमका शब्दले देवघाट पुगेका मलामीसमेत भावुक बनेका थिए। आफन्त, छरछिमेकी र शुभेच्छुकहरूले परिवारलाई सम्हाल्ने प्रयास गरिरहेका थिए। रिदमकी दिदी पनि दाइको निधनपछि आफूलाई सम्हाल्न सकिरहेकी थिइनन्।

“भाइमाथि यस्तो घटना भएपछि मेरो दाइ दिनहुँ न्यायका लागि दौडिनुहुन्थ्यो। जिल्ला प्रहरी कार्यालय जाने, उपचार खर्च जुटाउने, सहयोग खोज्ने र दोषीलाई कारबाही हुनुपर्छ भनेर पहल गर्ने काम उहाँले गर्नुभयो। ‘मेरो छोरालाई यस्तो गर्नेहरूलाई छोड्दिनँ’ भन्नुहुन्थ्यो। आज त्यही दाइ हामीलाई छोडेर जानुभयो। भाइलाई अपाङ्गजस्तै बनाएका छन्, दाइ पनि रहनुभएन,” भन्दै उनी भावविह्वल बनिन्।

रिदमका आफन्त, इष्टमित्र र छरछिमेकीहरू शोकमा डुबेका थिए। यता, आफ्नै घरमा रहेकी रिदमकी हजुरआमा पनि छोराको निधनको खबरपछि बेहोसजस्तै भएर ढलिरहेकी थिइन्। स्थानीयवासी र आफन्तहरूले उनलाई सम्हालिरहेका थिए। घरभरि रुवाबासी चलेको थियो।

देवघाटमा रिदमका हजुरबुवा पनि छोराको वियोगमा भावविह्वल अवस्थामा देखिनुहुन्थ्यो। पार्थिव शरीरअगाडि निःशब्द बसेका उहाँलाई आफन्तहरूले सम्हालिरहेका थिए। रवि पराजुलीकी बहिनी सिर्जना सुवेदीका अनुसार साउन ८ गते साँझ दाइलाई ज्वरो आएको थियो। स्थानीय मेडिकलका स्वास्थ्यकर्मीले घरमै पुगेर औषधि दिएपछि राति केही सुधार देखिएकाले अस्पताल जानुभएको थिएन।

“८ गते दाइलाई ज्वरो आएकोले म पनि भेट्न गएको थिएँ। अस्पताल जाऔँ भनेको थिएँ, तर केही ठिक भएको छ भनेर उहाँ सुत्नुभयो। म पनि घर आएँ। ९ गते बिहान फेरि ज्वरो चापेपछि भाउजूले दाइलाई स्कुटीमा राखेर अस्पताल लैजानुभयो। म पनि पछिपछि गएँ,” उनले भनिन्।

उनका अनुसार चितवन मेडिकल कलेज पुगेपछि रवि पराजुलीलाई सघन उपचार कक्ष ९आईसीयू० मा राखेर उपचार गरिएको थियो। एक रात उपचारपछि साउन १० गते बिहान ११ बजेर ४५ मिनेटमा चिकित्सकले मृत घोषणा गरेका हुन्।

सिर्जनाका अनुसार दाइलाई आफ्नो स्वास्थ्यभन्दा बढी छोराको न्यायको चिन्ता थियो। “दाइलाई रोगसँगसँगै अर्को ठूलो चिन्ता थियो– भाइले न्याय पाउँछ कि पाउँदैन भन्ने। आफू बिरामी हुँदा पनि उहाँको ध्यान छोराको न्यायमै हुन्थ्यो। कहाँ जाँदा न्याय पाइन्छ, कसरी पहल गर्दा दोषीमाथि कारबाही हुन्छ भनेर सोचिरहनुहुन्थ्यो,” उनले भनिन्।

“चिनेजानेका व्यक्ति, जनप्रतिनिधि र सम्बन्धित निकायसम्म पुगेर मेरो छोराले न्याय पाउनुपर्छ भन्दै साथ र सहयोग माग्नुहुन्थ्यो। आफ्नो भन्दा बढी उहाँलाई छोराको पीडाले सताउँथ्यो। तर न्यायको अन्तिम परिणाम हेर्न नपाउँदै दाइ हामीलाई छोडेर जानुभयो,” सिर्जनाले भावुक हुँदै बताइन्।

यसैबीच, रिदममाथि आक्रमण गर्ने पाँच जनामध्ये चार जनालाई प्रहरीले करिब एक महिनापछि पक्राउ गरेको छ। प्रहरीले उनीहरूलाई चितवनको चनौली क्षेत्रबाट नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय चितवन ल्याएको जनाएको छ। पक्राउ परेकामाथि ज्यान मार्ने उद्योग मुद्दाअन्तर्गत अनुसन्धान भइरहेको छ भने घटनामा संलग्न भनिएका एक जना अझै फरार छन्। उनको खोजी भइरहेको प्रहरीले जनाएको छ।

घटनापछि लामो समयसम्म अभियुक्त पक्राउ नपर्दा पीडित परिवारले असुरक्षा र न्याय पाउने विषयमा चिन्ता व्यक्त गर्दै आएको थियो। चार जना पक्राउ परेपछि केही राहत महसुस गरे पनि सबै दोषीलाई कानुनी दायरामा ल्याउनुपर्ने परिवारको माग छ।

उल्लेखनीय छ, गत जेठ ३१ गते भरतपुर–१२ नौरङ्गेमा पाँच जनाको समूहले रिदम पराजुलीमाथि सामूहिक कुटपिट गर्दै छुरा प्रहार गरेको थियो। छुरा प्रहारबाट गम्भीर घाइते भएका रिदमको पेटमा गम्भीर चोट लागेको थियो।

छोराको उपचार र न्यायका लागि निरन्तर संघर्ष गरेका रवि पराजुली अन्ततः आफूले चाहेको न्यायको परिणाम हेर्न नपाउँदै संसारबाट बिदा भएका छन्। अहिले परिवार एकातिर घाइते रिदमको उपचारमा छ भने अर्कोतिर न्यायको लडाइँ लड्ने अभिभावक गुमाएको पीडामा छ।

परिवारको एउटै माग छ– रिदममाथि आक्रमण गर्ने सबै दोषीलाई कानुनअनुसार कडा कारबाही होस् र पीडित परिवारले न्याय पाओस्।

याे पनि पढनु


सम्बन्धित समाचार