३२ असार, चितवन । भरतपुर महानगरपालिका–१२ नौरङ्गेमा १६ वर्षीय किशोर रिदम पराजुलीमाथि भएको सामूहिक कुटपिट तथा छुरा प्रहार प्रकरणमा प्रहरीले करिब एक महिनापछि फरार रहेका चार जना अभियुक्तलाई पक्राउ गरेको छ। घटनापछि निरन्तर फरार रहेका उनीहरूलाई चितवनको चनौली क्षेत्रबाट नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय चितवन ल्याइएको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी उपरीक्षक रामेश्वर पौडेलका अनुसार घटनामा संलग्न पाँच जनामध्ये चार जनालाई पक्राउ गरिएको छ भने एक जना अझै फरार छन्। फरार व्यक्तिको खोजी तीव्र बनाइएको र पक्राउ परेकामाथि ज्यान मार्ने उद्योग मुद्दाअन्तर्गत अनुसन्धान अघि बढाइएको उहाँले जानकारी दिनुभयो।
२०८३ जेठ ३१ गते भरतपुर–११ र १२ को सिमानामा पर्ने नौरङ्गेचोकमा भएको उक्त घटनामा पाँच जनाको समूहले रिदममाथि योजनाबद्ध रूपमा आक्रमण गरेका थिए । छुरा प्रहारबाट गम्भीर घाइते भएका रिदमलाई प्रारम्भिक उपचारपछि भरतपुर अस्पताल हुँदै चितवन मेडिकल कलेजमा भर्ना गरिएको थियो। उनको दुई पटक शल्यक्रिया गरिएको छ ।
उनको चितवन मेडिकल कलेजमा १६ दिन सम्म उपचारपछि अहिले घरमै स्वास्थ्यलाभ गरिरहेका छन्। घटनापछि लामो समयसम्म अभियुक्त पक्राउ नपर्दा पीडित परिवार असुरक्षित महसुस गर्दै आएको गुनासो गरेका थिए ।
परिवारका सदस्यका अनुसार आक्रमणपछि पनि सामाजिक सञ्जालमार्फत धम्कीपूर्ण गतिविधि भइरहेकाले पुनः आक्रमण हुन सक्ने डरले परिवार त्रासमा बाँच्न बाध्य भएको थियो। चार जना पक्राउ परेको खबरले केही राहत महसुस भए पनि आफू पूर्ण रूपमा ढुक्क हुन नसकेको घाइते रिदम बताउँछन्।
“प्रहरीले समातेको खबरले केही घाउमा मलम लगाएजस्तो भएको छ, तर घाउको पीडा अझै बाँकी छ। शरीरको चोट निको हुन समय लाग्ला, तर फेरि केही हुने हो कि भन्ने डर अझै हटेको छैन,” रिदमले भने।
उनका अनुसार अहिले पनि नियमित अस्पतालमा फलोअप भइरहेको छ। कहिलेकाहीँ चोटका कारण सास फेर्नसमेत कठिन हुने अवस्था आउने गरेको र शारीरिक पीडासँगै मानसिक तनावले पनि सताइरहेको उनले बताए।
नातिको उपचारमा सँगै रहेकी हजुरआमाले पनि दोषीमाथि कडा कारबाहीको माग गर्नुभयो। “धन्न मेरो नाति बाँच्यो। यस्ता घटना फेरि दोहोरिन नदिन दोषीलाई कानुनअनुसार कडा सजाय हुनुपर्छ,” उहाँले भावुक हुँदै भन्नुभयो।
घटनापछि पीडित परिवारले जिल्ला प्रहरी कार्यालय चितवनमा ज्यान मार्ने उद्योगअन्तर्गत जाहेरी दर्ता गराएको थियो। घटनासँग सम्बन्धित सीसीटीभी फुटेज, तस्बिर तथा अन्य प्रमाणसमेत प्रहरीलाई बुझाइएको परिवारको भनाइ छ।
पीडित पक्षले घटनामा मिसन पौडेल, विशेष लो, इभन गुरुङ, जेनिस गुरुङसहित अन्य व्यक्तिहरू संलग्न रहेको दाबी गर्दै नाम किटान गरेको थियो। प्रहरीले भने पक्राउ परेका व्यक्तिको संलग्नता र घटनाको वास्तविक कारणबारे अनुसन्धान जारी रहेको जनाएको छ।
प्रारम्भिक जानकारीअनुसार रिदम र एक आरोपित विद्यालयका सहपाठी हुन्। विद्यालयसँग सम्बन्धित सामान्य विवादले पछि हिंसात्मक रूप लिएको पीडित परिवारको दाबी छ। यद्यपि घटनाको वास्तविक कारण र प्रत्येक व्यक्तिको भूमिकाबारे अनुसन्धानपछि मात्र निष्कर्षमा पुग्न सकिने प्रहरीको भनाइ छ।
चार जना पक्राउ परेपछि पीडित परिवारले राहत महसुस गरे पनि निष्पक्ष अनुसन्धान र कानुनी प्रक्रियामार्फत सबै दोषीलाई कानुनको कठघरामा ल्याउनुपर्ने माग दोहोर्याएको छ।
अब प्रहरीको ध्यान फरार रहेका अन्तिम अभियुक्तको पक्राउ, घटनाको विस्तृत अनुसन्धान तथा अदालतमा प्रमाणसहित अभियोजन प्रक्रिया अघि बढाउनेतर्फ केन्द्रित भएको छ। पीडित परिवार भने न्याय प्राप्त नभएसम्म आफूहरूको चिन्ता समाप्त नहुने बताइरहेको छ।



















