३२ असार,वीरगञ्ज । मिटरब्याज पीडितलाई सरकारसँग थप वार्ता गर्न जहाजमार्फत काठमाडौं ल्याइने भएको छ। तराईबाट पैदल यात्रा गर्दै काठमाडौंतर्फ अघि बढेका आन्दोलनकारीलाई बाराको सिमरा विमानस्थलबाट हवाईमार्ग हुँदै काठमाडौं पठाउने तयारी गरिएको हो।
गृहमन्त्री सुधन गुरुङको पहलमा पीडितहरूलाई जहाजमार्फत काठमाडौं पठाउने व्यवस्था गरिएको उनको सचिवालयले जनाएको छ।
मिटरब्याजविरुद्ध किसान–मजदुर आन्दोलनका सहभागीहरू असार २५ गतेदेखि जनकपुरधामबाट ‘पैदल न्याय मार्च’ सुरु गरी काठमाडौंतर्फ हिँडेका थिए। उनीहरूलाई बारामै रोकेर गृहमन्त्री गुरुङले चार चरणमा वार्ता गरेका थिए। तर आन्दोलनकारीले उठाएका मागमा सहमति जुट्न नसकेपछि थप छलफलका लागि काठमाडौंमा वार्ता गर्ने तयारी गरिएको हो।
यसैबीच, मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव पुष्कर सापकोटाको संयोजकत्वमा सरकारी वार्ता टोली गठन गर्ने निर्णय गरेको छ।
उता आन्दोलनरत पक्षले पनि सरकारसँगको संवादलाई प्रभावकारी बनाउन केन्द्रीय अध्यक्ष अवधेश कुशवाहाको संयोजकत्वमा औपचारिक वार्ता टोली गठन गरेको छ। टोलीमा केन्द्रीय महासचिव मनोजकुमार पासमान, प्रवक्ता रिजन राना मगर, केन्द्रीय हेडक्वार्टर सदस्य लक्ष्मी घिमिरे, किरण परियार तथा संयुक्त जनअधिकार मोर्चाका केन्द्रीय अध्यक्ष निर्ग नवीन सदस्य रहेका छन्।
आन्दोलनकारीले अघि सारेका छ बुँदे मागलाई लिखित रूपमा स्वीकार गरी कार्यान्वयनको सुनिश्चितता गर्नुपर्ने अडान कायम राखेका छन्। यही विषयमा सहमति नजुट्दा हालसम्म भएका वार्ता निष्कर्षविहीन बनेका छन्।



















