Logo

३२ असार, काठमाडौं । काठमाडौंमा आयोजित एक विशेष भेटघाटमा प्रधानमन्त्री बालेन शाहले नेपालका महिला उद्यमीहरूको व्यावसायिक विकास र प्रवर्द्धनका लागि सरकार हरदम तयार रहेको प्रतिबद्धता जनाएका छन् ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा महिला उद्यमी महासंघ नेपालका पदाधिकारीहरूसँग भएको छलफलमा उनले उद्यमी महिलाहरूले भोग्नुपरेका सम्पूर्ण कानुनी तथा व्यावहारिक व्यवधानहरू हटाउन सरकार लागिपरेको स्पष्ट पारे ।

सो अवसरमा प्रधानमन्त्री शाहले नेपाली महिलाहरूद्वारा उत्पादित सामग्रीहरूलाई देशका प्रमुख पर्यटकीय स्थलहरूमा प्रदर्शनी तथा प्रवर्द्धन गर्ने वातावरण मिलाउने आश्वासन समेत दिए ।
छलफलका क्रममा महासंघले अघि सारेको ‘म उद्यमी’ ट्रेडमार्क ब्रान्डलाई बजारमा स्थापित गराउन गरेको आग्रहलाई प्रधानमन्त्रीले सहर्ष स्वीकार गर्दै यसलाई तत्कालै बजारमा ल्याउन उत्प्रेरित गरे ।

यसका साथै महिला उद्यमीहरूले निर्धक्कसँग काम गर्ने वातावरण, वस्तु तथा सेवालाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारसम्म पुर्‍याउन विशेष व्यापार मेला र बि टु बी (बिजनेस म्याचिङ) जस्ता कार्यक्रमहरूमा अनिवार्य सहभागिताको माग राखेका थिए ।

उनीहरूले सार्वजनिक खरिद ऐन परिमार्जन गरी सरकारी कार्यालय र शैक्षिक संस्थाहरूमा महिला उद्यमीका उत्पादन अनिवार्य खरिद गर्ने व्यवस्था मिलाउन र महासंघको वार्षिक अन्तर्राष्ट्रिय व्यापार मेलामा सरकारले संस्थागत सहकार्य गरोस् भन्ने चाहना व्यक्त गरे ।

महिला उद्यमीहरूले वास्तविक व्यवसायीले वित्तीय सहुलियत नपाएको गुनासो गर्दै यसको पहुँच गाउँ(गाउँसम्म विस्तार गर्न र पुँजी अभावकै कारण व्यवसाय बन्द हुने अवस्था आउन नदिन धितोको वैकल्पिक व्यवस्था गर्न माग गरे ।
महासंघलाई नीति निर्माण तहमा समेट्न आग्रह गर्दै उनीहरूले स्थानीय तहमा सीपमूलक तालिम सञ्चालनका लागि उच्च दक्ष स्रोत व्यक्तिहरू उपलब्ध गराउने प्रतिबद्धता समेत जनाए ।


सम्बन्धित समाचार
भर्खरै