Logo

३२ असार,वीरगञ्ज । बुधबार दिउँसोदेखि अचानक विद्युत् आपूर्ति अवरुद्ध भएपछि वीरगञ्ज महानगरपालिकाका विभिन्न स्थानमा उत्पन्न खानेपानीको चरम संकटलाई मध्यनजर गर्दै महानगरपालिकाले रात्रिकालीन समयमै खानेपानी वितरणको व्यवस्था मिलाएको छ। कार्यवाहक नगरप्रमुख इम्तियाज आलमको विशेष पहल र निर्देशनमा राति नै प्रभावित बस्तीहरूमा पानी ट्याङ्कर पुर्‍याइएपछि नगरवासीले ठूलो राहत महसुस गरेका छन्।

बुधबार दिउँसो करिब ३:०० बजेदेखि अचानक बिजुली अवरुद्ध भएपछि वीरगञ्जका अधिकांश वडाहरूमा खानेपानीको हाहाकार मच्चिएको थियो। गर्मीको समयमा लामो समय विद्युत् नहुँदा महानगरका सार्वजनिक धाराहरूमा पानी आउन छाडेको र व्यक्तिगत घरहरूमा जडान गरिएका मोटरहरू समेत चल्न नसक्दा स्थानीयवासी पिउने पानीबाट समेत वञ्चित भई निकै मर्कामा परेका थिए।

नागरिकहरूको तीव्र गुनासो र खानेपानीको अभावले निम्त्याएको यो आकस्मिक परिस्थितिलाई गम्भीरतापूर्वक लिँदै कार्यवाहक नगरप्रमुख इम्तियाज आलमले तत्कालै कदम चाल्नुभएको थियो। उहाँकै प्रत्यक्ष निगरानी र विशेष सक्रियतामा बुधबार राति नै महानगरपालिकाका पानी ट्याङ्करहरू परिचालन गरिएका थिए। कार्यवाहक नगरप्रमुख आलम आफैँ टोलीसहित खटिएर राति अबेरसम्म पानीको चरम अभाव भएका विभिन्न टोल तथा बस्तीहरूमा पुगी सुरक्षित खानेपानी वितरण गराउनुभएको थियो।

खानेपानीको अभावमा तड्पिरहेका स्थानीयवासीहरूले मध्यरातमा आफ्नै घरदैलोमा पानीको ट्याङ्कर आइपुगेपछि खुसी व्यक्त गरेका छन्। महानगरपालिकाले देखाएको तत्परता र जनप्रतिनिधिको सक्रिय नेतृत्वको स्थानीयवासीले खुलेरै प्रशंसा समेत गरे।

“राति पिउने पानी समेत नपाएर हामी काकाकुल बन्नुपर्ने अवस्था आइसकेको थियो,” स्थानीयवासीले खुसी व्यक्त गर्दै भने, “तर महानगरपालिकाले हाम्रो मर्का बुझेर राति नै घरदैलोमै पानी पुर्‍याइदियो। धेरै ठूलो राहत मिलेको छ। जनप्रतिनिधि हुनुको वास्तविक अर्थ दुःखको बेला यसरी नै साथ पाउनु रहेछ।”

महानगरपालिकाले आगामी दिनमा पनि यस्ता आकस्मिक वा प्राकृतिक समस्या आउँदा नागरिकको सेवामा अहोरात्र खटिने प्रतिबद्धता जनाएको छ। कार्यवाहक नगरप्रमुख आलमले जनताको आधारभूत आवश्यकता पूरा गर्नु महानगरको पहिलो दायित्व रहेको बताउँदै, विपद् र अप्ठ्यारो परिस्थितिमा महानगरपालिका सधैँ नगरवासीको साथमा रहने स्पष्ट पार्नुभएको छ।

विद्युत् आपूर्ति पूर्ण रूपमा सहज नहुन्जेलसम्म आवश्यक परेको खण्डमा थप वैकल्पिक व्यवस्था गरेर भए पनि खानेपानी वितरणलाई निरन्तरता दिइने महानगरपालिकाले जनाएको छ।


सम्बन्धित समाचार