३२ असार,वीरगञ्ज । पर्साको जगरनाथपुर गाउँपालिका–५ चिलझपटी टोलकी ३४ वर्षीया हीरादेवी यादवको उपचारका क्रममा मृत्यु भएको छ। कुटपिटबाट घाइते भएको दाबी गरिएको यादवको वीरगञ्जस्थित न्युरो अस्पतालमा उपचारका क्रममा मंगलबार (असार ३० गते) मृत्यु भएको हो।
परिवारका अनुसार गत असार १८ गते बिहान करिब ११ बजे सार्वजनिक जग्गामा निर्माण भइरहेको बर्थिङ सेन्टरको बाटोसम्बन्धी विवादका क्रममा हीरादेवीमाथि कुटपिट भएको थियो। कुटपिटबाट गम्भीर घाइते भएपछि उनलाई उपचारका लागि पोखरिया अस्पताल लगिएको थियो।
पोखरिया अस्पतालमा उपचार सम्भव नभएपछि थप उपचारका लागि काठमाडौं लगिएको र पछि वीरगञ्जस्थित न्युरो अस्पतालमा ल्याइएको परिवारले जनाएको छ। उपचारकै क्रममा उनको मृत्यु भएको हो।
मृतकको शव पोस्टमार्टमपछि परिवारलाई बुझाइएको र अन्त्येष्टि गरिएको जनाइएको छ।
यस घटनाबारे इलाका प्रहरी कार्यालय पोखरियाका प्रमुख प्रहरी निरीक्षक प्रदीप पौडेलले भने घटनास्थलमा प्रहरी टोली पुगेको भए पनि त्यतिबेला अवस्था सामान्य रहेको बताए। उनका अनुसार असार १८ गते बिहान करिब ११ बजे कुनै विवाद नरहेको अवस्थामा प्रहरी टोली पुगेको र सामान्य अवस्था देखिएपछि फर्किएको थियो।
प्रहरी निरीक्षक पौडेलका अनुसार सोही दिन साँझ करिब ५ बजे महिला आफैं लडेर घाइते भएको र उपचारका लागि अस्पताल लगिएको भन्ने जानकारी प्रहरीले पाएको थियो।
प्रहरीले घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ। अनुसन्धानबाट प्राप्त प्रमाणका आधारमा दोषी देखिएका व्यक्तिमाथि कानुनबमोजिम कारबाही गरिने प्रहरी निरीक्षक पौडेलले बताए।



















