Logo

३२ असार,वीरगञ्ज । पर्साको पटेर्वा सुगौली गाउँपालिका–२ स्थित थरघटीमा बिहीबार बिहान चट्याङ लागेर तीन जना घाइते भएका छन्। राष्ट्रिय वन क्षेत्रसँग जोडिएको स्थानमा बिहान करिब ७:१५ बजे चट्याङ लाग्दा उनीहरू घाइते भएको इलाका प्रहरी चौकी रंगपुरटाडीका प्रहरी सहायक निरीक्षक हर्कबहादुर श्रेष्ठले जानकारी दिए।

घाइते हुनेहरूमा स्थानीय दुःखी महतो धाङड, लालबाबु महतो उराँव र सूर्य महतो उराँव रहेका छन्। उनीहरू घर नजिकैको जंगल छेउमा पशु चौपाया चराइरहेका बेला अचानक चट्याङको चपेटामा परेका थिए।

घाइतेमध्ये सूर्य महतो उराँवको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ। उनको पेट र छातीमा गम्भीर चोट लागेको छ। तीनै जनाको वीरगञ्जस्थित नारायणी अस्पतालमा उपचार भइरहेको नारायणी अस्पताल प्रहरी बिटले जनाएको छ।

यसैबीच, पीडित परिवारको आर्थिक अवस्था कमजोर रहेको भन्दै स्थानीयवासी तथा घाइतेका आफन्तले उपचारका लागि सहयोगको अपिल गरेका छन्। उनीहरूले यस्ता प्राकृतिक विपद्का घटनामा स्थानीय सरकारले विपन्न नागरिकलाई तत्काल राहत तथा उपचार खर्चमा आर्थिक सहयोग उपलब्ध गराउनुपर्ने मागसमेत गरेका छन्।


सम्बन्धित समाचार