३२ असार, काठमाडौं । बिदा स्वीकृत नगराई लगातार ६० दिनभन्दा बढी समयदेखि कार्यालयमा अनुपस्थित रहेका स्वास्थ्य क्षेत्रका २३ जना कर्मचारीहरूलाई सेवाबाट बर्खास्त गर्ने तयारी गरिएको छ ।
स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले आज एक सार्वजनिक सूचना जारी गर्दै नेपाल स्वास्थ्य सेवा ऐन, २०५३ को दफा ७४ को उपदफा (१) बमोजिम ती कर्मचारीहरूलाई भविष्यमा स्वास्थ्य सेवाका लागि अयोग्य नठहरिने गरी सेवाबाट हटाउने प्रक्रिया अगाडि बढाएको हो । उनीहरु बिदा स्वीकृत नगरी ६० दिन भन्दा बढी गायव भएको अभिलेख छ ।
मन्त्रालयले कारबाहीको तयारीमा रहेका वीर अस्पताल, कान्ति बाल अस्पताल, राष्ट्रिय क्षयरोग नियन्त्रण केन्द्र भक्तपुर, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकु र आयुर्वेद चिकित्सालय नरदेवीमा कार्यरत डाक्टर, नर्सिङ अधिकृत, स्टाफ नर्स तथा ल्याब प्राविधिकसहित २३ कर्मचारीको नामावली सार्वजनिक गर्दै सफाइ पेस गर्न १५ दिनको अन्तिम समयसीमा दिएको छ ।
तोकिएको अवधिभित्र चित्तबुझ्दो स्पष्टीकरण वा विभागीय सजाय नगर्नुपर्ने ठोस कारण पेस नगरेमा उनीहरूलाई ऐनको दफा ७२ को खण्ड (ख) को उपदफा (१) अनुसार सेवाबाट हटाइने मन्त्रालयले स्पष्ट पारेको छ ।



















