३२ असार,वीरगञ्ज । बाराको करैयामाई गाउँपालिका–३ स्थित गौतम इट्टा उद्योगले माटो निकाल्न खनेको खाल्डोमा डुबेर ११ वर्षीया बालिकाको मृत्यु भएको छ।
मिति २०८३ साल असार ३१ गते साँझ करिब ५:०० बजे करैयामाई गाउँपालिका–३ गालोपाट्टी निवासी शिवनारायण चौधरीकी ११ वर्षीया छोरी रोशनी चौधरी बाख्रा चराउन गएको क्रममा उक्त खाल्डोमा डुबेको प्रहरीले जनाएको छ।
घटनाबारे जानकारी प्राप्त हुनासाथ प्रहरी चौकी गञ्जभवानिपुर, बाराबाट प्रहरी वरिष्ठ नायब निरीक्षक प्रविन मिश्रको कमाण्डमा प्रहरी टोली घटनास्थलमा पुगेर आवश्यक सुरक्षा व्यवस्था मिलाएको थियो। त्यसपछि जिल्ला प्रहरी कार्यालय, बाराबाट प्रहरी निरीक्षक बिमल खतिवडाको कमाण्डमा SOCO (Scene of Crime Officer) सहितको मुचुल्का टोली घटनास्थलमा खटिएको प्रहरीले जनाएको छ।
प्रहरीले घटनासम्बन्धी आवश्यक कानुनी प्रक्रिया अघि बढाएको छ भने मृत्युको कारण तथा घटनाको थप अनुसन्धान जारी रहेको जनाएको छ।



















