Logo

३२ असार, सुनसरी । पूर्वी पहाडी तथा तराई क्षेत्रमा जारी अविरल वर्षाका कारण देशकै ठुलो नदी सप्तकोसीमा पानीको बहाव लगातार बढ्ने क्रममा छ । बुधबार अबेर कोसी ब्यारेजमा पानीको मापन एक लाख ६३ हजार २३० क्युसेक पुगेको सुनसरीका प्रहरी नायब उपरीक्षक (डीएसपी) चन्द्रबहादुर खड्काले जानकारी दिएका छन् ।

पूर्वी नेपालका जलाधार क्षेत्रमा निरन्तर वर्षा भइरहेकाले नदीमा पानीको सतह अझै बढ्न सक्ने अनुमान गरिएको छ। नदीको बहावमा आएको उतारचढावलाई मध्यनजर गर्दै सम्भावित जोखिम टार्न कोसी ब्यारेजका कुल ५६ वटा ढोकामध्ये हाल २१ वटा ढोका खोलिएका छन् । ब्यारेजमा ५२ वटा मूल ढोका र ४ वटा नहरका गरी ५६ ढोका रहेका छन् ।

कोसी ब्यारेज नियन्त्रण कक्षका अनुसार सप्तकोसीमा पानीको बहाव एक लाख ५० हजार क्युसेकभन्दा माथि पुग्ने बित्तिकै त्यसलाई जोखिमको प्रारम्भिक सङ्केत मानिन्छ । सोही प्राविधिक मापदण्डअनुसार ब्यारेज नियन्त्रण कक्षले सम्भावित खतराप्रति आसपासका बासिन्दा र तटीय क्षेत्रलाई सचेत गराउन रातो बत्ती बालेको छ भने रातो झन्डा फहराएको छ ।

सुक्खा मौसममा शान्त र धेरै स्थानमा बालुवाका ढिस्का मात्र देखिने सप्तकोसीले वर्षायाम सुरु भएसँगै उग्र रूप लिने गर्दछ। असार, साउन र भदौ महिनामा पूर्वी पहाडी भेगमा हुने भारी वर्षाका कारण यो नदीमा बाढीको रूप भयानक हुने गरेको छ। सप्तकोसीको यो बहाव र सम्भावित विपद्‌प्रति नेपाल मात्र नभई छिमेकी मुलुक भारतका सीमावर्ती क्षेत्रमा समेत उच्च चासो र निगरानी राख्ने गरिन्छ ।

तमोर, अरुण, सुनकोसी, दूधकोसी, तामाकोसी, भोटेकोसी र इन्द्रावती गरी सातवटा ठुला नदीहरू मिसिएर बन्ने सप्तकोसीको बाढीले बर्सेनि आसपासका क्षेत्रमा ठुलो मात्रामा डुबान र कटानको समस्या निम्त्याउने गरेको छ ।

नदीमा पानीको सतह बढेसँगै सुनसरी, सप्तरी र श्रीलंका टापु लगायतका तटीय क्षेत्रका बासिन्दाहरूलाई उच्च सतर्कता अपनाउन स्थानीय प्रशासनले आग्रह गरेको छ । बाढीको प्रकृतिका आधारमा ब्यारेजका थप ढोकाहरू खोल्नका लागि प्राविधिक टोली तयारी अवस्थामा रहेको र सुरक्षा निकायहरूले नदीको अवस्थालाई चौबीसै घण्टा निगरानी गरिरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।


सम्बन्धित समाचार