Logo

३१ असार, चितवन । माडी नगरपालिकाले नगरभित्र सञ्चालित १३ वटा सामुदायिक विद्यालयमा प्रधानाध्यापक नियुक्ति प्रक्रिया सुरु गरेको छ। विद्यालयको शैक्षिक नेतृत्वलाई प्रतिस्पर्धामार्फत सक्षम बनाउने उद्देश्यसहित नगरपालिकाले प्रधानाध्यापक नियुक्ति सम्बन्धी कार्यविधि–२०८३ बमोजिम खुला दरखास्त आह्वान गरेको हो।

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत जगतप्रसाद भुसालद्वारा जारी सूचनाअनुसार इच्छुक तथा योग्य स्थायी शिक्षकहरूले सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र आवश्यक कागजातसहित नगरपालिकाको शिक्षा, युवा तथा खेलकुद शाखामा आवेदन बुझाउनुपर्नेछ।

कार्यविधिअनुसार कक्षा ९ देखि १२ सम्म सञ्चालन भएका विद्यालयका हकमा सम्बन्धित विद्यालयमै स्वीकृत दरबन्दीअनुसार कार्यरत समान तहका स्थायी शिक्षकले आवेदन दिन सक्नेछन्। कक्षा ६ देखि १० सम्म सञ्चालन हुने विद्यालयका लागि भने माडी नगरपालिकाभित्रका अन्य सामुदायिक विद्यालयमा कार्यरत योग्य स्थायी शिक्षकहरू पनि प्रतिस्पर्धामा सहभागी हुन सक्ने व्यवस्था गरिएको छ।

नगरपालिकाले दुई छुट्टाछुट्टै विज्ञापनमार्फत आवेदन मागेको छ। विज्ञापन नम्बर ००१/०८३/०८४ अन्तर्गत सोमेश्वर माध्यमिक विद्यालय, माडी माध्यमिक विद्यालय, जनकल्याण माध्यमिक विद्यालय र जनजीवन माध्यमिक विद्यालयमा प्रधानाध्यापक नियुक्ति गरिनेछ।

त्यसैगरी विज्ञापन नम्बर ००२/०८३/०८४ अन्तर्गत दिवाकर माध्यमिक विद्यालय, खैरहनी माध्यमिक विद्यालय, कृष्णनगर माध्यमिक विद्यालय, सगरमाथा माध्यमिक विद्यालय, शिशु कल्याण माध्यमिक विद्यालय, ब्रह्मज्योति आधारभूत विद्यालय, बालकल्याण आधारभूत विद्यालय, राष्ट्रिय आधारभूत विद्यालय र श्री आधारभूत विद्यालयका लागि पनि आवेदन खुला गरिएको छ।

योग्यताका विषयमा माध्यमिक तहको प्रधानाध्यापक बन्न नेपाल सरकारबाट स्थायी नियुक्ति प्राप्त गरी सामुदायिक विद्यालयमा कार्यरत शिक्षकले स्नातकोत्तर तह उत्तीर्ण गरेको हुनुपर्ने व्यवस्था छ। शिक्षाशास्त्र संकायबाट स्नातक उत्तीर्ण गरी कम्तीमा पाँच वर्ष स्थायी सेवा गरेका शिक्षकले पनि माध्यमिक तहको प्रधानाध्यापक पदमा उम्मेदवारी दिन सक्नेछन्।

यस्तै आधारभूत तहको प्रधानाध्यापक पदका लागि स्नातक तह उत्तीर्ण गरी सम्बन्धित तहमा कार्यरत स्थायी शिक्षक वा शिक्षाशास्त्र संकायको प्रमाणपत्र तह वा सो सरह उत्तीर्ण गरी कम्तीमा पाँच वर्ष स्थायी सेवा गरेका शिक्षक आवेदन दिन योग्य हुनेछन्।

आवेदनसँगै नागरिकताको प्रमाणपत्र, स्थायी नियुक्तिपत्र, बढुवा सम्बन्धी कागजात, शैक्षिक योग्यताका प्रमाणित प्रतिलिपि तथा विद्यालय विकास प्रस्ताव अनिवार्य रूपमा पेस गर्नुपर्ने नगरपालिकाले जनाएको छ।

छनोट भएका प्रधानाध्यापकको कार्यकाल पाँच वर्ष रहनेछ। उनीहरूले नियुक्त विद्यालयमै रहेर शैक्षिक गुणस्तर अभिवृद्धि, विद्यालय व्यवस्थापन सुधार तथा समग्र विद्यालय विकासको नेतृत्व गर्नुपर्ने जिम्मेवारी रहनेछ।

नगरपालिकाका अनुसार संघीय शिक्षा नीतिले स्थानीय तहलाई दिएको अधिकारको प्रयोग गर्दै विद्यालय व्यवस्थापनलाई थप प्रभावकारी बनाउने र योग्य तथा प्रतिस्पर्धी नेतृत्व विकास गर्ने उद्देश्यले यो प्रक्रिया अघि बढाइएको हो। खुला प्रतिस्पर्धाबाट सक्षम शिक्षकलाई विद्यालय नेतृत्वमा ल्याउने नगरपालिकाको अपेक्षा रहेको छ।


सम्बन्धित समाचार