३१असार,वीरगञ्ज ।रौतहटको ईशनाथ नगरपालिका–४ ठुलो लचमरीस्थित मठिया माध्यमिक विद्यालयको माछा पोखरीमा हाम फालेर बेपत्ता भएका भारतीय युवक मृत अवस्थामा फेला परेका छन्।
जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता डीएसपी वसन्त गौतमका अनुसार मंगलबार राति करिब ९ः३० बजे भारतको बिहार राज्य पूर्वी चम्पारण (मोतिहारी) जिल्ला, ढाका ग्राम पञ्चायत–३० निवासी लाल मोहम्मदका २३ वर्षीय छोरा मोहम्मद वजिरले उक्त पोखरीमा हाम फालेका थिए।
घटनाको जानकारी प्राप्त भएपछि प्रहरी चौकी मठिया र सशस्त्र प्रहरी बल औरैयाको संयुक्त टोलीले रातभर खोजतलास गरेको थियो। बुधबार बिहान वजिरको शव पोखरीबाट फेला परेको प्रहरीले जनाएको छ।
शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल गौर पठाइएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ।



















