३२ असार, काठमाडौं । विशेष अदालतले नेपाल टेलिकमका पूर्व प्रबन्ध निर्देशक सुनिल पौडेल र व्यवसायी दिपक आनन्दलाई भ्रष्टाचार मुद्दामा दोषी ठहर गर्दै जनही आठ वर्ष कैद सजाय सुनाएको छ ।
अध्यक्ष सुदर्शनदेव भट्ट तथा सदस्यद्वय हेमन्त रावल र डिल्लीरत्न श्रेष्ठको इजलासले पौडेललाई व्यवसायी आनन्दसँग घुस लिएको अभियोगमा उक्त सजाय तोकेको हो ।
यसका साथै, नेपाल सरकारको विशिष्ट श्रेणी (उच्च ओहोदा) मा रहेर पदको दुरुपयोग गरी भ्रष्टाचार गरेको ठहर गर्दै अदालतले पूर्व प्रबन्ध निर्देशक पौडेललाई थप छ महिना कैद सजाय समेत थपेको छ ।
अदालतले सजायसँगै दुवै अभियुक्तलाई भारी जरिवाना समेत बुझाउन आदेश दिएको छ । घुसबापतको रकम प्रत्यक्ष बरामद नभएका कारण अदालतले विगो भने दाबी गरेको छैन, तर लेनदेन भएको भनिएको कुल ३ करोड ८ लाख रुपैयाँलाई आधार मानी दुवै जनालाई समान रूपमा सजायको भागबन्डा गरेको छ ।
यस अनुसार पूर्व प्रबन्ध निर्देशक पौडेल र व्यवसायी आनन्द दुवैले जनही १ करोड ५४ लाख रुपैयाँ जरिवाना तिर्नुपर्ने फैसला भएको छ ।



















