Logo

३१ असार, काठमाडौं । दुई तिहाइ नजिकको बलियो सरकार र नयाँ पुस्ताको नेतृत्व आएपछि शेयर बजारमा उछाल (बुल) आउने लगानीकर्ताको सपना तीन महिनामै दुस्वप्नमा परिणत भएको छ ।

प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) को नेतृत्वमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सरकार गठन भएयता नेप्से परिसूचकमा निरन्तर पहिरो जाँदा लगानीकर्ताले झन्डै ६ खर्ब रूपैयाँ बराबरको सम्पत्ति गुमाएका छन् ।

अर्थतन्त्रका विज्ञहरूको ‘ड्रिम टिम’ ले मन्त्रालय र वित्तीय निकायहरू सम्हाल्दा समेत बजारले उल्टो बाटो समातेपछि पूँजीबजारका लाखौँ लगानीकर्ता यतिबेला आन्दोलन र निराशाको दोसाँधमा पुगेका छन् ।

परिसूचकमा पहिरो र खर्बौँको क्षति

सरकार गठन हुनुअघि २०८२ चैत १२ गते २,९५० विन्दुमा पुगेको नेप्से परिसूचक त्यसपछिका कारोबार दिनहरूमा लगातार घट्दै हाल २,५७६ विन्दुमा झरेको छ । यसरी तीन महिनाको अवधिमा परिसूचकमा १२.६७ प्रतिशतको गिरावट आउँदा समग्र बजार पुँजीकरण ५० खर्ब ९ अर्ब रूपैयाँबाट घटेर ४४ खर्ब २६ अर्ब रुपैयाँमा सीमित भएको छ ।

नेपाल शेयर धनी संघका अध्यक्ष जीएस पाण्डेका अनुसार लगानीकर्ताले गुमाएको ५ खर्ब ८३ अर्ब रुपैयाँको यो रकम नेपालको वार्षिक बजेटको २७ प्रतिशतभन्दा बढी हो । पुँजी बजार अर्थतन्त्रको ऐना भएकाले यसलाई बचाउन नसके आम लगानीकर्ता डुब्ने चेतावनी उनले दिएका छन् ।

‘ड्रिम टिम’माथि बजेटपछि झन् ठूलो दबाब

रास्वपा सरकार गठन हुँदा बजारले सकारात्मक दिशा लिने अपेक्षा गरिएको थियो । अर्थ मन्त्रालयको नेतृत्व अर्थविद् डा. स्वर्णिम वाग्लेले सम्हालेका छन् भने नेपाल राष्ट्र बैंकको गभर्नरमा डा. विश्व पौडेल, राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा डा. गुणाकर भट्ट र नेपाल धितोपत्र बोर्ड (सेबोन) को अध्यक्षमा डा. गोपाल भट्ट जस्ता वित्तीय प्रणाली बुझेका व्यक्तिहरू छन् ।

यस्तो बलियो टिम हुँदाहुँदै पनि जेठ १५ गते बजेट सार्वजनिक भएयता बजार झनै ओरालो लागेको छ । प्रधानमन्त्रीले निजी क्षेत्रका अगुवाहरूसँग संवाद गरे पनि बजारले लय समात्न सकेको छैन, जसका कारण रुष्ट भएका लगानीकर्ताहरू तिलक कोइरालाको नेतृत्वमा सेबोन कार्यालय नै घेर्न पुगेका छन् ।

सम्पत्ति शुद्धीकरणको त्रास र सेबोनको नयाँ रणनीति

बजार घट्नुको अर्को मुख्य कारण सरकारले ठूला व्यवसायीहरूमाथि सम्पत्ति शुद्धीकरणको अनुसन्धान तीव्र बनाउनुलाई मानिएको छ । यस कदमबाट त्रसित बनेका लगानीकर्ताको मनोबल उकास्न धितोपत्र बोर्डले आर्थिक वर्ष २०८३-८४ को पुँजी बजार नीतिमार्फत ‘क्यापिटल मार्केट टास्क फोर्स’ गठन गर्ने घोषणा गरेको छ ।

बजारलाई विश्वसनीय र प्रविधिमैत्री बनाउन ल्याइएको यो नीति अन्तर्गत अनधिकृत लगानी परामर्श, भ्रामक प्रचार, सामाजिक सञ्जालमार्फत बजार प्रभावित पार्ने (फिनफ्ल्युयन्स) गतिविधि र वित्तीय ठगीविरुद्ध नियामक निगरानी कडा पार्ने योजना अघि सारिएको छ ।


सम्बन्धित समाचार