Logo

३२ असार, चितवन । चितवन राष्ट्रिय निकुञ्ज र आसपासको मध्यवर्ती क्षेत्रमा लामो समयदेखि आतङ्क मच्चाउँदै आएको जङ्गली भाले हात्ती ‘ध्रुवे’ लाई निकुञ्ज प्रशासनले नियन्त्रणमा लिएर ‘रेडियो कलर’ जडान गरेको छ । निकुञ्जको प्राविधिक टोलीले हात्तीलाई ‘डार्ट’ (बेहोस बनाउने औषधि) गरी उसको गतिविधि निगरानी गर्ने प्रविधि जडान गरेको हो ।

निकुञ्जका सूचना अधिकारी अविनाश थापा मगरका अनुसार हात्तीलाई बेहोस बनाएपछि उसको घाँटीमा स्याटेलाइट रेडियो कलर जडान गरिएको छ । सुरक्षा संवेदनशीलता र सम्भावित आक्रमणको जोखिम न्यूनीकरणका लागि हात्तीको दुवै दाह्रा समेत काटेर पुनः जङ्गलमै छाडिएको निकुञ्ज प्रशासनले जनाएको छ । रेडियो कलर जडान गरेसँगै अब जीपीएस ट्र्याकिङमार्फत ध्रुवे कुन क्षेत्रमा विचरण गरिरहेको छ भन्ने कुराको प्रत्यक्ष र तत्कालै (रियल-टाइम) जानकारी प्राप्त हुनेछ, जसले गर्दा मानव-हात्ती द्वन्द्व रोक्न मद्दत पुग्ने विश्वास लिइएको छ ।

विगत लामो समयदेखि जङ्गल आसपासका बस्तीमा छिरेर जनधनको ठुलो क्षति पुर्‍याएको ध्रुवेको आक्रमणबाट हालसम्म २५ जनाले ज्यान गुमाइसकेका छन् । पछिल्लो पटक गत असार २० गते भरतपुर महानगरपालिका–२३ मा सोही हात्तीको हिंस्रक आक्रमणबाट २५ वर्षीया आशिका बोटे र उनका ४ वर्षीय छोरा भरत बोटेको मृत्यु भएको थियो । सोही घटनापछि निकुञ्ज प्रशासनले ध्रुवेलाई नियन्त्रणमा लिन विशेष टोली परिचालन गरी खोजी र निगरानी तीव्र पारेको थियो ।

ध्रुवेलाई डार्ट गर्ने उक्त अपरेसनमा निकुञ्जको सुरक्षार्थ खटिएको नेपाली सेनाको नयाँ गोरख गण, निकुञ्जका तालिमप्राप्त प्राविधिक कर्मचारीहरू तथा राष्ट्रिय प्रकृति संरक्षण कोष (NTNC) का वन्यजन्तु विशेषज्ञसहितको संयुक्त टोली संलग्न रहेको थियो ।

हात्तीमा रेडियो कलर जडान गरिए पनि उसको हिंस्रक स्वभावका कारण जोखिम पूर्ण रूपमा टरिनसकेकाले निकुञ्ज आसपासका स्थानीय बासिन्दाहरूलाई उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ । निकुञ्ज प्रशासनले जारी गरेका सुरक्षा सम्बन्धी सूचनाहरूको पूर्ण पालना गर्न र जङ्गल आसपास क्षेत्रमा एक्कासि हात्ती देखा परेमा तत्काल नजिकको सुरक्षा निकाय वा निकुञ्ज कार्यालयमा खबर गर्न अपिल गरेको छ ।


सम्बन्धित समाचार