Logo

३२ असार,वीरगञ्ज । वीरगञ्जस्थित प्रसिद्ध शक्तिपीठ श्री गहवामाई मन्दिरको चौथो रथयात्रा बिहीबार श्रद्धा, भक्ति र उत्साहका साथ सम्पन्न भएको छ। विगत तीन वर्षदेखि निरन्तर आयोजना हुँदै आएको रथयात्रामा यस वर्ष पनि हजारौं श्रद्धालु भक्तजनको उल्लेखनीय सहभागिता रहेको थियो।

बिहान गहवामाई मन्दिरमा विशेष पूजा–आराधनापछि सुरु भएको रथयात्रा घण्टाघर, रेलवे रोडको भित्री बाइपास, छपकैया, मुख्य सडक, अस्पताल रोड, मकालु चोक, आदर्शनगर, घडिअर्वा हुँदै पुनः माईस्थान मन्दिर पुगेर समापन हुने कार्यक्रम रहेको माईस्थान मन्दिर सञ्चालक समितिका अध्यक्ष नरेन्द्र साहले जानकारी दिए।

रथयात्रालाई सुरक्षित, व्यवस्थित र मर्यादित बनाउन नेपाल प्रहरी, सशस्त्र प्रहरी बल तथा ट्राफिक प्रहरीले विशेष सुरक्षा व्यवस्था मिलाएको थियो। सुरक्षा स्रोतका अनुसार सादा पोशाकमा समेत सुरक्षाकर्मी परिचालन गरिएको थियो भने सम्पूर्ण रथयात्रा मार्गमा सुरक्षा निगरानी बढाइएको थियो। ट्राफिक व्यवस्थापनलाई सहज बनाउन विभिन्न स्थानमा वैकल्पिक मार्गसमेत सञ्चालन गरिएको थियो।

रथयात्रामा सहभागी हुन बिहानैदेखि बालबालिकादेखि ज्येष्ठ नागरिकसम्मका श्रद्धालुहरू मन्दिर परिसरमा भेला भएका थिए। रथयात्रा सुरु हुनुअघि वर्षा भए पनि त्यसले भक्तजनको उत्साहमा कुनै असर पारेन। मुख्य सडक विस्तारका क्रममा केही स्थानमा संरचना हटाइएका कारण सामान्य असहजता देखिए पनि भक्तजनहरू भक्तिभावका साथ रथयात्रामा सहभागी भएका थिए।

आयोजक समितिका अनुसार बिहानको रथयात्रापछि दिउँसो १२ बजेसम्म विशेष पूजा सञ्चालन हुनेछ। त्यसपछि केही समय विश्राम गरी दिउँसो १ बजेदेखि पुनः पूजा–आराधना सुरु गरिनेछ। धार्मिक विधिअनुसार बेलुका ४ बजे मुख्य हवन तथा साँझ ६ बजे भव्य महाआरती आयोजना गरिने कार्यक्रम रहेको छ। महाआरतीपछि साँझ ६:३० बजेदेखि उपस्थित सम्पूर्ण श्रद्धालु भक्तजनलाई प्रसाद वितरण गरिने आयोजकले जनाएको छ।

वीरगञ्जको प्रमुख धार्मिक तथा सांस्कृतिक पर्वका रूपमा स्थापित गहवामाई रथयात्राले धार्मिक सद्भाव, सामाजिक एकता तथा सांस्कृतिक परम्पराको संरक्षण र प्रवर्द्धनमा महत्वपूर्ण भूमिका खेल्दै आएको विश्वास आयोजकहरूले व्यक्त गरेका छन्।

gahwamai ratha yatra1 gahwamai ratha yatra2 gahwamai ratha yatra3 gahwamai ratha yatra4 gahwamai ratha yatra5


सम्बन्धित समाचार