३२ असार,वीरगञ्ज । सिरहामा अवैध हतियार र गोलीसहित एक जना भारतीय नागरिक पक्राउ परेका छन्।पक्राउ पर्नेमा भारतका अन्दाजी २६ वर्षीय रोशन कुमार यादव रहेका छन्।
प्रहरीले नियमित सवारी चेकजाँचका क्रममा सिरहा नगरपालिका–७ क्षेत्रमा भारतीय नम्बर प्लेट BR07AZ4215 रहेको मोटरसाइकललाई शङ्काको आधारमा रोकी खानतलासी गरेको थियो। सो क्रममा मोटरसाइकलमा लुकाइछिपाइ राखिएको अवस्थामा एक थान कटुवा पेस्तोल र दुई राउन्ड गोली बरामद भएको प्रहरीले जनाएको छ।
हतियार र गोली बरामद भएपछि प्रहरीले यादवलाई मोटरसाइकलसहित नियन्त्रणमा लिएको छ। उनीमाथि अवैध हतियार तथा खरखजाना सम्बन्धी कसुरमा आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ।
घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरीले जानकारी दिएको छ।



















