Logo

९ असोज, काठमाडौँ ।  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले जेनजी आन्दोलनको क्रममा दमनकारी भूमिका खेलेका तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीसहित तीन मन्त्रीलाई राजनीतिक क्रियाकलापमा सहभागी हुन रोक लगाउन सरकारको ध्यानाकर्षण गराएको छ।

रास्वपाको केन्द्रीय समितिले मंगलबार र बुधबार बसेको बैठकमा तत्कालीन प्रधानमन्त्री ओली, गृहमन्त्री रमेश लेखक र सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङलाई राजनीतिक गतिविधिमा प्रतिबन्ध लगाउन जोड दिएको हो। बैठकपछि रास्वपाका प्रवक्ता मनीष झाले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “भदौ २३ र २४ गते भएको आन्दोलनमा राज्य पक्षबाट भएका दमन र हिंसाको छानबिन प्रतिवेदन नआएसम्म तत्कालीन प्रधानमन्त्री, गृहमन्त्री र सञ्चार मन्त्रीलाई राजनीतिक क्रियाकलापमा सहभागी हुन रोक लगाउन नेपाल सरकारको ध्यानाकर्षण गराइन्छ।”

त्यसैगरी, रास्वपाले २०४६ सालदेखिको उच्च सार्वजनिक ओहदामा रहेका व्यक्तिहरुको सम्पत्ति छानबिन गर्न सरकारलाई दबाब दिने निर्णय पनि गरेको छ। पार्टीको बैठकले जेनजी आन्दोलनका क्रममा नेताहरुको निवासमा भेटिएका अवैध नगद तथा चल-अचल सम्पत्तिको सत्यतथ्य छानबिन गर्न सरकारको ध्यानाकर्षण गराउने निर्णय गरेको छ।

अर्कोतर्फ, आफ्ना सभापति रवि लामिछानेलाई नक्खू कारागारबाट भगाउने लगायतका गतिविधिमा रास्वपाका सदस्यहरुको संलग्नता भए नभएकोबारे पनि छानबिन गरिने पार्टी प्रवक्ता मनिष झाले बताए ।


सम्बन्धित समाचार