मुग्लिन–नारायणगढ सडकखण्ड अन्तर्गत तुइनखोला नजिकै खसेको पहिरो हटाउने काम द्रुत गतिमा अगाडि बढेको छ ।
बिहीबार दिउँसोसम्म पहिरो पन्छाउने काम करिब ६० प्रतिशत सम्पन्न भएको सडक डिभिजन भरतपुर ले जानकारी दिएको छ। सडक डिभिजन भरतपुरका अनुसार, पहिरो हटाउनका लागि नारायणगढतर्फ २ र मुग्लिनतर्फ ३ गरी कुल ५ वटा उपकरणहरू प्रयोगमा ल्याइएका छन् । काम गर्ने क्षेत्र साँघुरो भएकाले एकपटकमा यति उपकरणले मात्र काम गरिरहेका छन् भने थप १–१ वटा उपकरण दुवैतर्फ तयारी अवस्थामा राखिएका छन् ।
नारायणगढतर्फ ठूलाठूला ढुङ्गाहरू भेटिएकाले पहिरो पन्छाउन केही अवरोध आएको छ। सडक डिभिजन भरतपुरले काममा कुनै ठूलो बाधा नआएमा आज रातिसम्म पहिरो पूर्ण रूपमा हटाई सडक आवागमन सञ्चालनमा ल्याउने अपेक्षा राखेको छ।
















