Logo

८ असार, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) भित्र ‘संस्थापक सदस्य स्वतः केन्द्रीय समिति सदस्य बन्ने’ निर्णय खारेज गरिएपछि आन्तरिक असन्तुष्टि चुलिएको छ ।

पार्टीको असार ४ गते बसेको सचिवालय बैठकले संस्थापक सदस्यहरूलाई केन्द्रीय समितिमा स्वतः समावेश गर्ने निर्णय गर्दै सोहीअनुसारको सर्कुलरसमेत जारी गरेको थियो । तर, पछि समायोजन भएर आएका नेताहरूको चर्को विरोध र दबाबका कारण नेतृत्व आफ्नो निर्णयबाट पछि हटेको हो ।

पार्टीको प्रथम महाधिवेशन चितवनमा जारी रहँदा बाहिरिएको यो निर्णयले स्थापनाकालदेखि सक्रिय संस्थापक नेताहरूलाई थप चिन्तित तुल्याएको छ । समायोजनमा आएका ५१ जना नेताहरूलाई स्थान दिने क्रममा संस्थापक सदस्यहरूलाई पाखा लगाउन खोजिएको भन्दै असन्तुष्ट नेताहरूले सभापतिको ध्यानाकर्षण गराएका छन् ।

सभापतिले मनोनीत गर्ने ५१ जनाको सूचीमा संस्थापकहरूलाई पनि समेट्नुपर्ने माग राख्दै उनीहरूले समायोजन र समावेशिताको नाममा पुराना साथीहरूलाई उपेक्षा गर्न नहुने तर्क गरेका छन् । पार्टीभित्रको यो विवादले महाधिवेशनको बन्दसत्रका बीचमा नेताहरूबीचको शक्ति सन्तुलन र प्राथमिकतालाई लिएर नयाँ बहस जन्माएको छ ।


सम्बन्धित समाचार