Logo

८ असार, काठमाडौं । बेलायती प्रधानमन्त्री कीर स्टार्मरले पदबाट राजीनामा दिने घोषणा गर्दै बेलायती राजनीतिमा नयाँ तरंग ल्याएका छन् ।

१० डाउनिङ स्ट्रिटबाहिर राष्ट्रका नाममा सम्बोधन गर्दै उनले प्रधानमन्त्रीको पद र लेबर पार्टीको नेतृत्व दुवैबाट अलग हुने निर्णय सार्वजनिक गरेका हुन् । आगामी आम निर्वाचनमा पार्टीको नेतृत्व गर्न आफू उपयुक्त पात्र हो वा होइन भन्ने विषयमा पार्टीभित्रैबाट प्रश्न उठेपछि, त्यसलाई सम्मानपूर्वक स्वीकार गर्दै उनले राजीनामाको बाटो रोजेका हुन् ।

सम्बोधनका क्रममा प्रधानमन्त्री स्टार्मरले आफ्नो कार्यकालमा पार्टी र राष्ट्रको हितका लागि गरेका प्रयासहरूको चर्चा गरे। सन् २०२४ मा सत्ता सम्हाल्दा निकै चुनौतीपूर्ण अवस्थामा रहेको लेबर पार्टीलाई आफूले सुदृढ बनाएको, पार्टीभित्रको ‘एन्टी-सेमिटिज्म’ जस्ता समस्या हल गरेको र अर्थतन्त्र तथा सुरक्षामा जनताको विश्वास फर्काएको उनले दाबी गरे ।

राजीनामाको घोषणाअघि उनले किङ चार्ल्ससँग भेट गरी आफ्नो निर्णयबारे जानकारी गराएका थिए । भावुक देखिएका स्टार्मरले यस कठिन निर्णयमा साथ दिने आफ्नो परिवारप्रति कृतज्ञता प्रकट गरेका छन् ।

उनको बहिर्गमनसँगै लेबर पार्टीमा नयाँ नेतृत्वको चर्चा सुरु भएको छ । आगामी जुलाई ९ बाट नेतृत्व चयन प्रक्रिया सुरु हुने र सेप्टेम्बरमा संसद् पुनः सुरु हुनुअघि नै नयाँ नेता चयन गरिसक्ने गरी कार्यतालिका तय गरिएको छ ।

नयाँ नेतृत्वको चयन नभएसम्म कीर स्टार्मर नै प्रधानमन्त्रीका रूपमा कार्यभार सम्हाल्नेछन् । स्टार्मरको यो कदमले लेबर पार्टीमा अब कस्तो राजनीतिक मोड लिन्छ, त्यो भने हेर्न बाँकी छ ।


सम्बन्धित समाचार