८ असार,काठमाडौं । सर्पदंशका घटना सबैभन्दा बढी हुने वर्षायाममा देशभर सर्पदंश उपचारमा प्रयोग हुने जीवनरक्षक औषधि एन्टिस्नेक भेनम अभाव भएको भन्दै चिन्ता बढेको छ। विशेषगरी तराई–मधेसका जिल्लाहरूमा सर्पदंशका बिरामीहरू उपचारमा समस्या भोग्न बाध्य भएको गुनासो आएको छ।
यद्यपि सरकारले भने सर्पदंश उपचारका लागि आवश्यक एन्टिस्नेक भेनमको अभाव नरहेको दाबी गरेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सह–प्रवक्ता तथा वरिष्ठ स्वास्थ्य प्रशासक डा. समीरकुमार अधिकारीले आवश्यक औषधि आपूर्तिको प्रक्रिया अघि बढिसकेको र उपलब्धतामा ठूलो समस्या नरहेको बताएका छन्।
उनका अनुसार एन्टिस्नेक भेनम खरिदका लागि टेन्डर प्रक्रिया सम्पन्न भइसकेको छ भने आपूर्तिकर्तासँग सम्झौता गरी औषधि उपलब्ध गराउन निर्देशन दिइसकिएको छ। उनले करिब १३ हजार २०० भायल एन्टिस्नेक भेनम आपूर्तिको प्रक्रियामा रहेको जानकारी दिए।
डा. अधिकारीले हाल सरकारी भण्डार पूर्ण रूपमा खाली नभएको स्पष्ट पार्दै सर्पदंश उपचार केन्द्रहरूमा आवश्यक औषधि उपलब्ध रहेको दाबी गरे। साथै रेबिजविरुद्धको खोप तथा अन्य अत्यावश्यक औषधिहरू पनि आपूर्तिको क्रममा रहेको उनले बताए।
उनले अत्यावश्यक औषधिको आपूर्तिमा बेला–बेला देखिने समस्यालाई समाधान गर्न सरकारले सार्वजनिक खरिद प्रक्रियालाई थप सहज र प्रभावकारी बनाउन कानुनी तथा प्रक्रियागत सुधारको कामसमेत अघि बढाएको जानकारी दिए।
नेपालमा मनसुन सुरु भएसँगै विशेषगरी तराई–मधेस क्षेत्रमा सर्पदंशका घटना बढ्ने गरेका छन्। हरेक वर्ष सर्पदंशका कारण सयौं नागरिकले ज्यान गुमाउने गरेको तथ्यांक छ। यही अवस्थालाई ध्यानमा राख्दै सरकारले आगामी आर्थिक वर्षमा एन्टिस्नेक भेनम तथा अन्य जीवनरक्षक औषधिको अभाव हुन नदिने तयारी गरिरहेको जनाएको छ।
स्वास्थ्य विज्ञहरूले सर्पले टोकेपछि घरेलु उपचारमा भर नपरी तत्काल नजिकको स्वास्थ्य संस्थामा पुगेर उपचार गराउन सर्वसाधारणलाई आग्रह गरेका छन्।
















