Logo

८ असार, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रवक्ता मनिष झाले पार्टीको महामन्त्री पदमा आफ्नो औपचारिक उम्मेदवारी घोषणा गरेका छन् ।

भरतपुरमा जारी पार्टीको प्रथम राष्ट्रिय महाधिवेशनका क्रममा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले आफू महामन्त्रीको उम्मेदवार बन्न मानसिक रूपमा तयार रहेको स्पष्ट पारेका हुन् । मिडियामा चलेको आफ्नो उम्मेदवारीको चर्चालाई स्वीकार गर्दै उनले महाधिवेशनको परिणाम जेसुकै आए पनि आफू प्रतिस्पर्धाबाट पछि नहट्ने अडान व्यक्त गरेका छन् ।

आफ्नो राजनीतिक यात्रा र भविष्यको लक्ष्यबारे बोल्दै नेता झाले आफूमा देशको प्रधानमन्त्री वा पार्टीको सभापति बन्ने महत्त्वाकांक्षा नभएको स्पष्ट पारेका छन्। यद्यपि, आफूले हालसम्म सम्हालेको जिम्मेवारी र नेतृत्वको तहभन्दा अगाडि बढ्ने चाहना भने स्वाभाविक भएको उनले जिकिर गरे ।

रास्वपाभित्रको आन्तरिक लोकतन्त्र र प्रतिस्पर्धालाई सामान्य रूपमा लिँदै उनले आफू जस्तोसुकै परिणामका लागि तयार रहेको भन्दै महामन्त्रीको दौडमा आफूलाई उभ्याएका हुन् ।


सम्बन्धित समाचार