८ असार,वीरगञ्ज । जीतपुरसिमरा नगर उद्योग वाणिज्य संघको नयाँ नेतृत्व चयनका लागि आइतबार सम्पन्न निर्वाचनको अन्तिम मतपरिणाम सोमबार बिहान सार्वजनिक भएको छ। निर्वाचन परिणामअनुसार युवा उद्यमी गजेन्द्र कुमार गुप्ता अध्यक्ष पदमा निर्वाचित भएका छन्।
गुप्ताले आफ्ना निकटतम प्रतिद्वन्द्वी मनोजकुमार गुप्तालाई फराकिलो मतान्तरले पराजित गर्दै नेतृत्व हात पारेका हुन्। अध्यक्ष पदमा निर्वाचित गजेन्द्रले ५२९ मत प्राप्त गर्दा मनोजले १९९ मत मात्र प्राप्त गरेका थिए।
त्यस्तै, वरिष्ठ उपाध्यक्ष पदमा शिवजी साह सोनार निर्वाचित भएका छन्। सोनारले ५०२ मत प्राप्त गर्दा उनका प्रतिद्वन्द्वी सन्तोष कुमारले १९५ मत पाएका थिए।
वाणिज्य उपाध्यक्ष पदमा रामबाबु कलवार ५३१ मतसहित विजयी भएका छन्। उनका निकटतम प्रतिस्पर्धी प्रमोद साहले १११ मत प्राप्त गरेका थिए।
यस्तै, महासचिव पदमा प्रकाश गिरि ५१२ मतसहित निर्वाचित भएका छन्। उनका प्रतिस्पर्धी सुशील शर्माले १८८ मत प्राप्त गरेका छन्।
कोषाध्यक्ष पदमा रीना रौनियार ४१२ मतसहित निर्वाचित भएकी छन्। त्यसैगरी वाणिज्यतर्फको सचिव पदमा २९७ मतसहित उम्मेदवार निर्वाचित भएका छन्।
वाणिज्यतर्फका सदस्य पदमा अमरेन्द्र कलवार, नवरतन कलवार, बलराम पौडेल, विभा गुप्ता, विजय गुप्ता, मनोहरबाबु गुप्ता, मुकुन्द रिजाल, रुपनारायण गुप्ता तथा श्रीराम साह कानु निर्वाचित भएका छन्।
नवनिर्वाचित नेतृत्वले उद्योगी–व्यवसायीको हकहित संरक्षण, व्यापारिक वातावरण सुदृढीकरण तथा संघको संस्थागत विकासलाई प्राथमिकतामा राखेर काम गर्ने प्रतिबद्धता जनाएको छ।
















