८ असार, काठमाडौं । नयाँ बानेश्वरस्थित राष्ट्रिय वाणिज्य बैंकको शाखामा भएको लुटपाटको घटनापछि आफ्नो धितोको सुरक्षा र क्षतिपूर्तिको माग गर्दै पीडित ग्राहकहरू आन्दोलित भएका छन् ।
जेन–जी आन्दोलनका क्रममा बैंकबाट करिब १८ किलो सुन र ५ करोड २५ लाख रुपैयाँ नगद लुटिएको थियो । उक्त लुटपाटमा बैंकमा धितो राखिएको आफ्नो सुन गुमाएका ग्राहकहरूले यतिबेला बैंकको केन्द्रीय कार्यालय घेराउ गर्दै कडा प्रदर्शन गरेका हुन् । सुन चोरी भएपछि बैंक व्यवस्थापनले क्षतिपूर्ति दिनुको साटो उल्टै पन्छिन खोजेको आरोप लगाउँदै पीडितहरू आक्रोशित बनेका छन् ।
प्रदर्शनका क्रममा धितोकर्ता सरस्वती बस्नेतले आफूहरूले सरकारी बैंकप्रति भरोसा गरेर धितो राखेको सुन अहिले हराउँदा बैंकले कुनै राहत वा जवाफ नदिएको भन्दै गुनासो गरिन् । उनीहरूले लुटिएको कुल तौल बराबरको सुन तत्काल फिर्ता गर्न माग गरेका छन् ।
प्रदर्शनकारीहरूले बैंकको केन्द्रीय कार्यालयभित्र प्रवेश गर्ने प्रयास गर्दा प्रहरीसँग झडपसमेत भएको थियो । सरकारी बैंकलाई विश्वास गर्नु नै हाम्रो अपराध हो ? भन्दै प्रश्न गरेका पीडितहरूले बैंक व्यवस्थापनले गम्भीर नबनेसम्म आफ्नो संघर्ष जारी रहने चेतावनी दिएका छन् ।
















