Logo

८ असार, काठमाडौं । काठमाडौँ महानगरपालिका र सरकारले विकल्प नदिई सडकपेटीबाट हटाएको र नगर प्रहरीमार्फत दमन गरेको भन्दै दृष्टिविहीनहरू आन्दोलित भएका छन् ।

सोमबार माइतीघर मण्डलामा भेला भई उनीहरूले आफूहरूको जीविकोपार्जनको अधिकार खोसिएको भन्दै धर्ना सुरु गरेका हुन् । सडकपेटी केन्द्रित स्वरोजगारमूलक दृष्टिविहीन व्यवसायी समूहका संयोजक सुदीप ओलीले आफूहरूले धुप बिक्री, तौल मेसिनको प्रयोग वा कला प्रस्तुत गरेर बाँच्ने आधार बनाएको भए पनि महानगरले त्यो समेत खोसेको भन्दै आक्रोश व्यक्त गरेका छन् ।

आन्दोलित दृष्टिविहीनहरूले नगर प्रहरीले होल्डिङ सेन्टरमा लगेर दिनभर थुन्ने र महिलामाथि समेत दुर्व्यवहार गर्ने गरेको आरोप लगाएका छन्। उनीहरूले राज्यसँग बाँच्नका लागि तीनवटा विकल्प अघि सारेका छन्— या त सडकमा गरिखान दिनुपर्ने, या योग्यता र क्षमता अनुसार रोजगारी दिनुपर्ने, अथवा मासिक २० हजार रुपैयाँ बेरोजगार भत्ता उपलब्ध गराउनुपर्ने ।

राज्यले गाँस, बास र कपासको ग्यारेन्टी नगरेसम्म दैनिक बिहान ९ बजेदेखि १२ बजेसम्म माइतीघरमा धर्ना जारी राख्ने उनीहरूले चेतावनी दिएका छन् । सडकबाट लखेटिएपछि दैनिकी चलाउनै मुस्किल भएको भन्दै उनीहरूले तत्काल उचित व्यवस्थापनको माग गरेका छन् ।


सम्बन्धित समाचार