१० असोज, काठमाडौँ । यातायात व्यवस्था विभागले आफ्ना अति आवश्यक सेवाहरू सवारी चालक अनुमति पत्र (ईडीएल) र सवारी दर्ता (ईभीआरएस) सम्बन्धी सम्पूर्ण सेवाहरू अनिश्चितकालका लागि बन्द गरेको छ ।
भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका क्रममा भएको आगजनीको कारण प्रणालीमा गम्भीर समस्या आएपछि विभागले यो निर्णय लिन बाध्य भएको हो ।
किन रोकियो सेवा ?
विभागले आज शुक्रबार सार्वजनिक गरेको सूचनाअनुसार आन्दोलनका बेला मीनभवनस्थित डाटा सेन्टरमा आगजनी भएको थियो। आगजनीका कारण सर्भरमा क्षति पुगेको र प्रणाली सञ्चालनमा समस्या आएको छ । विभागले हाल सर्भर मर्मत सम्भारको कार्य द्रुत गतिमा भइरहेको जनाएको छ । मर्मत कार्य सम्पन्न नभएसम्म चालक अनुमति पत्र र सवारी दर्तासम्बन्धी अनलाइन सेवा तथा अन्य सम्बन्धित सेवाहरू अर्को सूचना प्रकाशित नभएसम्म उपलब्ध नहुने विभागले स्पष्ट पारेको छ।
सेवा बन्द भएपछि नयाँ लाइसेन्स आवेदन, नवीकरण, सवारी दर्ता, नामसारी जस्ता काम गर्न चाहने सेवाग्राहीहरू प्रभावित भएका छन्।















