Logo

८ असार, चितवन । चितवनको भरतपुरमा जारी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को राष्ट्रिय महाधिवेशनमा मधेस प्रदेशबाट सहभागी हुने प्रतिनिधिहरूको अन्तिम नामावली टुङ्गो लागेको छ । आन्तरिक विवादका कारण केही समय अन्योलमा परेको मधेस प्रदेशको प्रतिनिधि छनोट प्रक्रियालाई पार्टीले आइतबार मध्यरातमा सहमति खोज्दै फाइनल गरेको हो ।

यसअघि मधेस प्रदेशभित्रको आन्तरिक खिचातानी र असन्तुष्टिका कारण रास्वपाले अन्य ६ वटा प्रदेश र प्रवास (वैदेशिक) क्षेत्रका प्रतिनिधिहरूको मात्रै नामावली सार्वजनिक गर्न सकेको थियो । महाधिवेशनको बन्दसत्र र निर्वाचन प्रक्रिया नजिकिँदै जाँदा शीर्ष नेताहरूको सघन छलफलपछि मधेसको विवादलाई किनारा लगाइएको पार्टी स्रोतले जनाएको छ।

रास्वपा केन्द्रीय सचिवालयका अनुसार मधेस प्रदेशका ८ वटा जिल्लाबाट कुल ५९२ जना प्रतिनिधिहरू चितवन महाधिवेशनमा सहभागी छन् । मधेसको सूची पनि पारित भएसँगै महाधिवेशनको बन्दसत्र र विद्युतीय प्रणालीबाट हुने नेतृत्व चयन प्रक्रियामा सबै क्षेत्रको पूर्ण प्रतिनिधित्व सुनिश्चित भएको छ । ढिलो गरी सूची सार्वजनिक भए पनि मधेसबाट चुनिएका प्रतिनिधिहरू यतिखेर महाधिवेशन स्थल भरतपुर पुगिसकेका छन् ।


सम्बन्धित समाचार