७ असार, काठमाडौं । चितवनको भरतपुरस्थित गेष्टहाउस चौरमा आजदेखि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को बहुप्रतिक्षित प्रथम राष्ट्रिय महाधिवेशन भव्य रूपमा सुरु भएको छ ।
महाधिवेशनको उद्घाटन सत्रलाई पार्टीका महामन्त्री कबिन्द्र बुर्लाकोटीले सञ्चालन गरेका छन् भने उद्घाटन समारोहमा पार्टी सभापति रवि लामिछाने, प्रधानमन्त्री एवं रास्वपाका वरिष्ठ नेता बालेन्द्र शाह (बालेन), विभिन्न राजनीतिक दलका प्रतिनिधि तथा हजारौँ कार्यकर्ता र शुभचिन्तकहरूको बाक्लो उपस्थिति रहेको छ ।
तीन दिनसम्म सञ्चालन हुने यस महाधिवेशनले रास्वपाको भावी राजनीतिक दिशा तय गर्नुका साथै नयाँ नेतृत्वसमेत चयन गर्नेछ । पार्टीले महाधिवेशनअघि नै आफ्नो विधानमा महत्त्वपूर्ण संशोधन गरिसकेको छ । सोही संशोधित विधानअनुसार यसपटक १९ जना पदाधिकारीसहित १५८ सदस्यीय विशाल केन्द्रीय कार्यसमिति निर्वाचित हुनेछ ।
पार्टी स्थापनाको छोटो समयमै आयोजना गरिएको यस महाधिवेशनलाई रास्वपाले आफ्नो आन्तरिक लोकतन्त्र सुदृढ गर्ने र संगठनलाई थप विस्तार गर्ने रणनीतिक अवसरका रूपमा लिएको छ ।
उद्घाटन सत्रमा विभिन्न दलका शीर्ष नेतृत्वको उपस्थिति र कार्यकर्ताको उत्साहले चितवनको माहोललाई निकै रोचक बनाएको छ । महाधिवेशनले चयन गर्ने नयाँ नेतृत्वले आगामी दिनमा रास्वपालाई कसरी अघि बढाउँछ, त्यसप्रति अहिले आम चासो र चर्चाको विषय बनेको छ ।















