७ असार,काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रथम राष्ट्रिय महाधिवेशनअन्तर्गत नयाँ केन्द्रीय नेतृत्व चयनका लागि निर्वाचन कार्यतालिका सार्वजनिक गरेको छ।
पार्टीको केन्द्रीय निर्वाचन आयोगले सार्वजनिक गरेको कार्यतालिकाअनुसार महाधिवेशन प्रतिनिधिहरूको प्रारम्भिक नामावली प्रकाशन भइसकेको छ। प्रतिनिधिहरूमाथि दाबी–विरोध दर्ता गर्ने समय भोलि बिहान ९ बजेसम्म निर्धारण गरिएको छ भने अन्तिम नामावली भोलि बिहान १० बजे प्रकाशित गरिनेछ।
निर्वाचन कार्यक्रमअनुसार भोलि दिउँसो २ बजेदेखि ४ बजेसम्म उम्मेदवारी दर्ता हुनेछ। उम्मेदवारहरूको अन्तिम नामावली भने भोलि राति ११ बजे सार्वजनिक गरिने निर्वाचन आयोगले जनाएको छ।
त्यसैगरी असार ९ गते बिहान ७ बजेदेखि साढे ८ बजेसम्म मौन अवधि कायम गरिनेछ। सोही दिन बिहान साढे ८ बजेदेखि दिउँसो ३ बजेसम्म पार्टी सभापति तथा केन्द्रीय सदस्य पदका लागि मतदान हुने कार्यक्रम तय गरिएको छ।
केन्द्रीय निर्वाचन आयोगका प्रमुख भुवन केसी का अनुसार मतदान सम्पन्न भएको करिब दुई घण्टापछि मतगणना सुरु गरिनेछ र नतिजा सार्वजनिक गरिनेछ।
आयोगले आवश्यक परे दोस्रो चरणको निर्वाचनसम्बन्धी थप कार्यतालिका पछि सार्वजनिक गरिने जनाएको छ।
















