७ असार,वीरगञ्ज । जीतपुरसिमरा उपमहानगरपालिकाले नगर प्रहरी तथा प्राविधिक जनशक्तिको क्षमता अभिवृद्धि गर्ने उद्देश्यले वन्यजन्तु तथा सर्प उद्धारसम्बन्धी दुईदिने तालिम सम्पन्न गरेको छ।
पर्सा राष्ट्रिय निकुञ्ज को प्राविधिक सहजीकरणमा सञ्चालन गरिएको तालिममा वन्यजन्तु तथा सर्पसँग सम्बन्धित जोखिम व्यवस्थापन, उद्धार तथा संरक्षणका विविध विषयमा प्रशिक्षण प्रदान गरिएको थियो।
उपमहानगरपालिकाका अनुसार मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरण गर्दै आपत्कालीन अवस्थामा सुरक्षित र प्रभावकारी उद्धार कार्य सञ्चालन गर्न सक्ने दक्ष जनशक्ति उत्पादन गर्ने उद्देश्यले तालिम आयोजना गरिएको हो।
तालिमका क्रममा विभिन्न प्रजातिका सर्पको पहिचान, विषालु र अविषालु सर्पबीचको भिन्नता, उद्धारका बेला अपनाउनुपर्ने सुरक्षा मापदण्ड, वन्यजन्तु नियन्त्रणका व्यावहारिक उपाय तथा उद्धारपछिको व्यवस्थापनबारे विस्तृत जानकारी दिइएको थियो। सहभागीहरूलाई सैद्धान्तिक ज्ञानसँगै व्यवहारिक अभ्याससमेत गराइएको थियो।
निकुञ्जका विज्ञ तथा प्राविधिकहरूको सहजीकरणमा सम्पन्न तालिममा पछिल्लो समय बस्ती क्षेत्रमा सर्प तथा वन्यजन्तुको बढ्दो उपस्थितिलाई मध्यनजर गर्दै सुरक्षित व्यवस्थापनका उपायहरूमा विशेष जोड दिइएको थियो।
कार्यक्रमका वक्ताहरूले वन्यजन्तु संरक्षण र मानव सुरक्षाबीच सन्तुलन कायम गर्न दक्ष जनशक्तिको भूमिका महत्वपूर्ण हुने उल्लेख गर्दै तालिमबाट प्राप्त ज्ञान र सीपलाई कार्यक्षेत्रमा प्रभावकारी रूपमा प्रयोग गर्न सहभागीहरूलाई आग्रह गरेका थिए।
नगर प्रहरी, प्राविधिक कर्मचारी तथा सम्बन्धित शाखाका कर्मचारीहरूको सहभागिता रहेको उक्त तालिमले आगामी दिनमा वन्यजन्तु तथा सर्प उद्धार कार्यलाई थप व्यवस्थित, सुरक्षित र प्रभावकारी बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गरिएको छ।















