Logo

७ असार,चितवन । सामान्यतया असारदेखि भदौसम्म पर्यटकको चहलपहल कम हुने चितवनको सौराहासहित भरतपुर आसपासका होटल यस वर्ष भने भरिभराउ भएका छन्। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम राष्ट्रिय महाधिवेशनका कारण होटल तथा पर्यटन व्यवसायमा उल्लेख्य उत्साह देखिएको व्यवसायीहरूले बताएका छन्।

तीन दिनसम्म चल्ने महाधिवेशनमा सहभागी हुन देशभरबाट प्रतिनिधि, नेता, कार्यकर्ता, शुभेच्छुक, पर्यवेक्षक तथा सञ्चारकर्मी चितवन पुगेपछि होटलहरूमा कोठा पाउन कठिन भएको छ। रास्वपाका ४ हजार २११ प्रतिनिधिसहित करिब १० हजार मानिस महाधिवेशनका क्रममा चितवन आएको अनुमान गरिएको छ।

क्षेत्रीय होटल संघ सौराहाका उपाध्यक्ष गुणराज थपलियाका अनुसार बेमौसममा समेत अपेक्षाभन्दा बढी पर्यटक आगमन भएको छ। उनका अनुसार सौराहाका करिब १५० होटलमा सात हजार जनासम्म बस्न सक्ने क्षमता भए पनि अधिकांश होटल भरिएका छन्।

होटल भिष्टाका सञ्चालक रमेश सिलवालले महाधिवेशनस्थल भरतपुरबाट केही दूरीमा रहेको सौराहामा पनि नेता तथा कार्यकर्ताको उल्लेख्य उपस्थिति रहेको बताए। उनले नेकपा एमालेको महाधिवेशनपछि रास्वपाको महाधिवेशनले पनि सौराहाको पर्यटन व्यवसायलाई टेवा पुर्‍याएको बताए।

रेष्टुरेन्ट व्यवसायी दीपेन्द्र खतिवडाले होटल बुकिङ र आवासका लागि सोधपुछ गर्नेको संख्या ह्वात्तै बढेको जानकारी दिए। होटल व्यवसायी संघ चितवनअन्तर्गत रहेका ७३१ होटल तथा रेष्टुरेन्टमध्ये आवास सुविधा भएका अधिकांश होटल भरिएको व्यवसायीहरूको भनाइ छ।

संघका निवर्तमान अध्यक्ष कृष्ण भट्टका अनुसार गत वर्ष यही समयमा करिब ४० प्रतिशत होटल मात्र भरिने गरेकामा अहिले ८० प्रतिशतभन्दा बढी होटल भरिएका छन्। “राम्रा अधिकांश होटल भरिएका छन्, मध्यमस्तरका होटलमा मात्र केही कोठा बाँकी छन्,” उनले भने।

भरतपुर गार्डेनका महाप्रबन्धक घनश्याम चापागाईंले दुई दिनदेखि होटल पूर्ण रूपमा भरिएको बताए। त्यस्तै दियालो फुडल्याण्डका प्रबन्ध निर्देशक रमेश अधिकारीले महाधिवेशनसँग सम्बन्धित बैठक र गतिविधिका कारण झण्डै एक सातादेखि होटलमा चहलपहल बढेको जानकारी दिए।

चितवनमात्र होइन, नवलपरासीको गैँडाकोटस्थित होटलहरूमा समेत महाधिवेशनको प्रभाव देखिएको छ। ‘द नारायणी रिसोर्ट’का प्रबन्ध निर्देशक रविन पण्डितले आफ्ना दुवै होटल तीन दिनदेखि पूर्ण रूपमा भरिएको बताए।

रास्वपाको भोजन तथा आवास उपसमितिका संयोजक राजन गौतमका अनुसार महाधिवेशनमा सहभागी प्रतिनिधिहरूलाई होटलको विवरण पहिल्यै उपलब्ध गराइएको थियो। होटल व्यवसायीहरूले अन्य समयको तुलनामा सहुलियत दरमा कोठा र खानाको व्यवस्था गरेको उनले बताए।

महाधिवेशन अवधिमा सहभागीहरूले आफैं होटल तथा खानाको खर्च बेहोर्ने व्यवस्था गरिएकाले स्थानीय होटल, रेष्टुरेन्ट तथा पर्यटन व्यवसायमा प्रत्यक्ष आर्थिक गतिविधि बढेको व्यवसायीहरूको भनाइ छ।


सम्बन्धित समाचार