Logo

७ असार, चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम राष्ट्रिय महाधिवेशनमा शुभकामना दिन पुगेका जनमत पार्टीका अध्यक्ष डा.सीके राउतले आफू र रास्वपाको सपना एउटै भएको दाबी गरेका छन् ।

चितवनको भरतपुरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष राउतले रास्वपाका नेता–कार्यकर्तामा देश बनाउने र समृद्धि ल्याउने जुन अठोट छ, सोही अठोट आफूभित्र पनि रहेकाले आफू एक ‘सहयात्री’ को रूपमा उपस्थित भएको बताए ।

राजनीतिक वृत्तमा अक्सर दलहरूलाई एक–अर्काको प्रतिस्पर्धीका रूपमा हेरिने गरिए पनि राउतले रास्वपाप्रति उदारता देखाउँदै आफू कुनै प्रतिस्पर्धाको भावनाले नभई देशको रूपान्तरणका लागि साझा सहयात्राको उद्देश्यले आएको प्रस्ट पारे । ‘जुन सपना तपाईंहरूले देख्नुभएको थियो, ठीक त्यही सपना मैले पनि देखेको थिएँ,’ उनले भने, ‘त्यही चाहना र अठोटको मिलनविन्दु नै आजको मेरो सहभागिता हो ।’

रास्वपाको पहिलो महाधिवेशनमा विभिन्न दलका शीर्ष नेताहरूको उपस्थिति र एक–अर्काबीचको संवादलाई नेपाली राजनीतिमा एक सकारात्मक संकेतका रूपमा लिइएको छ ।

विशेष गरी रास्वपा र जनमत पार्टी दुवैलाई पछिल्लो समयको ‘नयाँ राजनीतिक शक्ति’ का रूपमा हेरिने गरेकाले पनि राउतको यो अभिव्यक्ति र सहयात्राको प्रस्तावलाई अर्थपूर्ण रूपमा हेरिएको छ ।

देश बनाउने साझा उद्देश्यका लागि पुराना र नयाँ शक्तिबीचको यस प्रकारको संवादले आगामी दिनमा थप सहकार्यको बाटो खोल्ने आँकलन गरिएको छ ।


सम्बन्धित समाचार