Logo

७ असार, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्नो प्रथम ऐतिहासिक राष्ट्रिय महाधिवेशनलाई मर्यादित, निष्पक्ष र पारदर्शी रूपमा सम्पन्न गर्ने उद्देश्यका साथ २२ सदस्यीय विशेष निर्वाचन संरचना तयार गरेको छ ।

पार्टीको केन्द्रीय निर्वाचन आयोगले महाधिवेशनको सम्पूर्ण निर्वाचन प्रक्रियालाई व्यवस्थित तुल्याउन १० सदस्यीय केन्द्रीय निर्वाचन आयोग र त्यसअन्तर्गत काम गर्ने गरी १२ सदस्यीय ‘राष्ट्रिय महाधिवेशन निर्वाचन समिति–२०८३’ गठन गरेको हो ।

केन्द्रीय निर्वाचन आयोगको नेतृत्व भुवन केसीले गरिरहेका छन् भने डा। राम गुरुङ उपप्रमुखको भूमिकामा छन् । आयोगमा कुमार आनन्द मिश्र, नारायण प्रसाद प्याकुरेल, सुमित्रा पण्डित, गोकुल सापकोटा, निश्चल सिंह भण्डारी, बिपि दाहाल, सौरेन्द्र बहादुर शाह र सुदन प्रसाद ज्ञवाली सदस्य रहेका छन्। त्यस्तै, महाधिवेशनको स्थलगत निर्वाचन व्यवस्थापनका लागि गठित १२ सदस्यीय समितिमा वीरेन्द्र केएम, गणेशदत्त भट्ट, डा. दिनेश महतो, आयुष्मा अर्याल, भूपेन्द्रराज बस्नेत, मिलन कार्की, सार्थक भट्टराई र रामकुमार खतिवडा चयन भएका छन् ।

यस निर्वाचन प्रक्रियालाई प्राविधिक तथा प्रशासनिक सहयोग पुर्‍याउन शुभराज शिल्पकार, सेनु लामा तामाङ, राजेन्द्र कुमार श्रेष्ठ र मुकेश झा गरी थप चार जना कर्मचारीहरूलाई परिचालन गरिएको छ । निर्वाचन आयोगका प्रमुख भुवन केसीले महाधिवेशनलाई पूर्ण लोकतान्त्रिक पद्धतिबाट सम्पन्न गराउन यो समितिले तटस्थ र प्रभावकारी भूमिका निर्वाह गर्ने प्रतिबद्धता जनाएका छन् ।

चितवनको भरतपुरमा आजदेखि सुरु भएको तीनदिने महाधिवेशनमा नयाँ नेतृत्व चयन गर्ने कार्यभारका साथ गठन गरिएको यो समितिले निर्वाचनसम्बन्धी सम्पूर्ण कार्यसम्पादन गर्नेछ ।


सम्बन्धित समाचार