७ असार, चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम राष्ट्रिय महाधिवेशनमा शुभकामना मन्तव्य राख्दै नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का नेता वर्षमान पुन ‘अनन्त’ ले आफ्नो पार्टी र रास्वपाबीच गहिरो वैचारिक समानता रहेको जिकिर गरेका छन् ।
चितवनको भरतपुरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै नेता पुनले ऐतिहासिक पृष्ठभूमि र कार्यशैली फरक भए पनि राजनीतिक परिवर्तन र समाज रूपान्तरणका मुद्दामा दुवै दल एकै ठाउँमा उभिएको दाबी गरे ।
नेता पुनले रास्वपाको उदयलाई परम्परागत राजनीतिको ‘क्रमभंगता’ का रूपमा अर्थ्याउँदै आफूहरूको राजनीतिक यात्रासँग यसको तादम्यता मिलेको बताए। उनले भने, ‘तपाईंहरू र हाम्रा कयौं विषयमा समानता छन् । हामी दुवैले निरन्तरतालाई क्रमभंगता गर्दै नयाँ बाटो तय गरेका हौं ।’ क्रान्ति, परिवर्तन र सुशासनलाई उनले नेकपा र रास्वपालाई जोड्ने प्रमुख कडीका रूपमा प्रस्तुत गरे ।
विशेषगरी सुशासनको एजेन्डामा आफूहरूबीच बलियो सहकार्यको सम्भावना रहेको उनको भनाइ थियो । ‘सुशासनको एजेन्डामा नेकपा र रास्वपाबीच जति निकट सहकार्य अरू दलसँग देखिएको छैन, त्यति हामीले अनुभव गरिरहेका छौँ,’ उनले थपे ।
परम्परागत शक्तिहरूसँगको प्रतिस्पर्धामा रहेका रास्वपा र नेकपाबीचको यो ‘वैचारिक निकटता’ को अभिव्यक्तिलाई राजनीतिक वृत्तमा आगामी दिनको सम्भावित सहकार्यको संकेतका रूपमा पनि हेरिएको छ । विभिन्न विचारधाराका दलहरूबीचको यो संवादले महाधिवेशनको मञ्चलाई थप रोचक बनाएको छ ।















