Logo

८ असार, काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको उत्तेजक र कडा अभिव्यक्तिका बाबजुद अमेरिका र इरानबीचको कूटनीतिक वार्ता केही असमझदारीलाई चिर्दै पुनः अगाडि बढेको छ । अमेरिकाले इरानसँगको संवाद प्रक्रिया जारी रहेको र यो वार्ता ‘रातभर चल्न सक्ने’ अपेक्षा गरिएको जनाउँदै सकारात्मक नतिजा आउनेमा आशा व्यक्त गरेको छ।

यसअघि राष्ट्रपति ट्रम्पले आइतबार एक अन्तर्वार्ताका क्रममा तेहरानको वार्ता टोलीप्रति कडा टिप्पणी र धम्कीपूर्ण भाषा प्रयोग गरेपछि इरानका प्रमुख वार्ताकार असन्तुष्ट बनेका थिए ।

सोही कारण वार्ता केही समयका लागि अवरुद्ध हुन पुगेको थियो । इरानी उच्च स्रोतका अनुसार ट्रम्पको व्यवहारका कारण वार्ता तालिकामा केही धक्का लागे पनि वार्ता प्रक्रिया पूर्ण रूपमा समाप्त भने भइसकेको थिएन ।

सोही अन्तर्वार्तामा ट्रम्पले इरानसँग कुनै ठोस सम्झौता हुन नसकेको खण्डमा अमेरिकाले पुनः भीषण सैन्य बमबारी गर्न सक्ने र रणनीतिक रूपमा अत्यन्तै महत्त्वपूर्ण मानिएको ‘स्ट्रेट अफ होर्मुज’ (होर्मुजको जलसन्धि) लाई ‘आफ्नो नियन्त्रणमा लिन’ सक्ने कडा चेतावनी दिएका थिए ।

यो महत्वपूर्ण समुद्री जलमार्गलाई व्यापारका लागि पुनः सञ्चालन गर्ने विषयमा प्रारम्भिक सम्झौतामा डिजिटल हस्ताक्षर भइसकेको भए पनि ट्रम्पको पछिल्लो अभिव्यक्तिले मध्यपूर्वमा फेरि संशय र तनाव थपिदिएको छ ।

आणविक कार्यक्रमका अतिरिक्त इजरायल र इरान समर्थित सशस्त्र समूह हिजबुल्लाहबीच लेबनानमा जारी भीषण लडाइँ पनि यो वार्ताको अर्को प्रमुख अवरोधका रूपमा देखा परेको छ ।

तेहरानले लेबनानमा इजरायलले गरिरहेका घातक आक्रमणहरू पूर्ण रूपमा बन्द नभएसम्म र त्यहाँ पूर्ण युद्धविराम लागू नभएसम्म अमेरिकासँगको वार्ता सकारात्मक रूपमा अघि बढ्न नसक्ने अडान राख्दै आएको छ ।

६० दिने समयसीमाभित्र ठोस सम्झौतामा पुग्ने दबाबमा रहेका दुवै देशका कूटनीतिज्ञहरू यतिबेला सैन्य धम्की र क्षेत्रीय युद्धको जटिलताका बीच पनि असमझदारी हटाउँदै वार्तालाई सम्हालेर लैजाने प्रयासमा जुटेका छन् ।


सम्बन्धित समाचार