१० असोज,वीरगञ्ज । मधेस विश्वविद्यालयको चौथो विश्वविद्यालय सभा बैठक सम्पन्न भएको छ। बैठक मधेस प्रदेशका मुख्यमन्त्री तथा विश्वविद्यालयका कुलपति सतीशकुमार सिंहको अध्यक्षतामा शुक्रबार बसेको हो।
बैठकलाई सम्बोधन गर्दै कुलपति सिंहले गुणस्तरीय शिक्षाका लागि सबै सरोकारवालाको साझा प्रयास आवश्यक रहेको उल्लेख गरे। उनले भने,“हामीकहाँ शिक्षाका लागि विदेशिने रकम ठूलो छ। त्यो रोक्न अब देशमै गुणस्तरीय शिक्षा उपलब्ध गराउन आवश्यक छ। विश्वविद्यालयहरूले सीपमूलक शिक्षा दिनुपर्छ ताकि युवाहरू विदेशिनु नपरोस्।”
मुख्यमन्त्री सिंहले विदेश जाने युवाको उच्च संख्यालाई चिन्ताजनक भन्दै, विश्वविद्यालयले वैदेशिक विश्वविद्यालयहरूसँग सहकार्य गरी दक्ष जनशक्ति उत्पादन गर्नुपर्नेमा जोड दिए।“आत्मनिर्भर बन्न दक्षता अनिवार्य छ,” उनले भने, “त्यसका लागि गुणस्तरीय र व्यावहारिक शिक्षा अपरिहार्य छ।”
सो अवसरमा विश्वविद्यालयका संस्थापक कुलपति तथा पूर्व मुख्यमन्त्री मोहम्मद लालबाबु राउत गद्दीले मधेस विश्वविद्यालयलाई प्रदेशकै गौरवपूर्ण संस्थाको रूपमा चित्रण गरे।
उनले भने, “मधेस विश्वविद्यालय, कृषि विश्वविद्यालय र स्वास्थ्य विज्ञान प्रतिष्ठान प्रदेशको भविष्य निर्माण गर्ने आधार हुन्।”
बैठकमा विश्वविद्यालयका उपकुलपति प्रा.डा. दीपकबहादुर शाक्यले आगामी नीतिगत कार्यक्रमहरू प्रस्तुत गरे। साथै, रजिस्ट्रार विजयकुमार यादवले आर्थिक वर्ष २०८२/८३ का लागि रु. २२ करोड ११ लाख ३६ हजार ८ सय १८ पैसा बराबरको बजेट तथा कार्यक्रम प्रस्ताव गरेका थिए।
बैठकमा विश्वविद्यालयको शैक्षिक, प्रशासनिक र भौतिक पूर्वाधार विकास, स्रोत साधन परिचालन, तथा शैक्षिक सहकार्य विस्तारजस्ता विषयमा पनि छलफल भएको जनाइएको छ।















