१० असोज,वीरगञ्ज । चाडपर्व नजिकिँदै गर्दा पर्सा प्रहरीले सम्भावित अपराध नियन्त्रण गर्न विशेष सुरक्षा योजना सार्वजनिक गरेको छ। दशैं, तिहार र छठ पर्वलाई लक्षित गर्दै तयार पारिएको यो सुरक्षा योजना असोज ६ गतेदेखि लागू भइसकेको छ।
जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख एसपी सुदीपराज पाठकका अनुसार, सुरक्षा योजनाअन्तर्गत जिल्लाभर ११ सय प्रहरी परिचालन गरिएको छ। मुख्य बजार, मठमन्दिर, बैंक तथा वित्तीय संस्थाहरू, साथै संवेदनशील क्षेत्रमा छुट्टै प्रहरी टोली परिचालन गरिएको छ।
एसपी पाठकका अनुसार, चाडपर्वको भीडभाड र जेनजी आन्दोलनको आडमा आपराधिक गतिविधि बढ्ने सम्भावनालाई मध्यनजर गर्दै मोबाइल गस्ती, पेट्रोलिङ, सरप्राइज चेकिङ, र सादा पोसाकमा प्रहरी परिचालन गरिएको छ।
उनले भने,
“कुनै पनि घटनाको सूचना पाउनासाथ १० मिनेटभित्र प्रहरी घटनास्थलमा पुग्ने व्यवस्था मिलाइएको छ। यसको लागि क्विक रेस्पोन्स टिम (QRT) तयारी अवस्थामा राखिएको छ।”
भारतसँगको खुला सीमाका कारण चोरी, लुटपाट, हतियार दुरुपयोग र सीमा अपराधको जोखिम उच्च रहेको भन्दै सिसिटिभी निगरानी, शंकास्पद व्यक्तिहरूको निगरानी, र सूचना संकलनलाई उच्च प्राथमिकतामा राखिएको छ।
एसपी पाठकले स्पष्ट शब्दमा भने,“जेनजीको नाममा अपराध गर्ने जो कोही भए पनि कानुनी कठघरामा उभ्याइनेछ। कानुन उल्लंघनमा संलग्न कसैलाई छुट दिइने छैन। आवश्यक परे मेरो जागिर जाओस्, तर अपराधीमाथि कारबाही हुन्छ।”
प्रहरीले कुनै घटना वा आपराधिक गतिविधि देखेमा १०० नम्बरमा तुरुन्त खबर गर्न नागरिकहरूलाई अनुरोध गरेको छ। समुदायसँग सहकार्य गरेर शान्तिपूर्ण चाडपर्व मनाउने वातावरण बनाउने उद्देश्यसहित प्रहरी सतर्क रहेको जनाएको छ।















