११ असोज, काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले शनिबार माध्यमिक शिक्षा परीक्षा (एसईई) पूरक परीक्षाको नतिजा सार्वजनिक गरेको छ। बोर्डका अध्यक्ष डा. महाश्रम शर्माका अनुसार परीक्षामा सहभागी १ लाख ४३ हजार २५७ मध्ये ८३ हजार ५६४ जना परीक्षार्थी उत्तीर्ण भएका छन्।
बाँकी ५९ हजार ६९३ जना भने अनुत्तीर्ण अर्थात् अवर्गीकृत भएका छन्।
बोर्डले नियमित परीक्षामा एक वा दुई विषयमा अनुत्तीर्ण भएका विद्यार्थीहरूका लागि पूरक परीक्षा आयोजना गरेको थियो। पूरक परीक्षा दिएर उत्तीर्ण हुने विद्यार्थीहरू आगामी शैक्षिक सत्रमा कक्षा ११ मा भर्ना हुन सक्नेछन्।
नतिजा सार्वजनिकसँगै विद्यार्थीहरूले बोर्डको वेबसाइट, एसएमएस सेवा र विभिन्न शिक्षा पोर्टलमार्फत आफ्नो नतिजा हेर्न सक्ने व्यवस्था गरिएको छ।
बोर्डका अनुसार पूरक परीक्षाको नतिजा मूल्यांकन प्रक्रिया निष्पक्ष र मापदण्डअनुसार सम्पन्न गरिएको छ।















